७ दिने बैंकिङ ट्रेनिङ सम्पन्न

Medio  29

बैंक तथा वित्तीय संस्थाहरुले प्रविधिको प्रयोगमा जोड दिएपनि ग्राहकहरु नै यसबारेमा जानकार नहुँदा नेपालमा बैंकिङ प्रविधिको प्रयोग बढ्न नसकेको सरोकारवालाहरुले बताएका छन् । बिहीबार मिडिया इन्टरनेशनलद्धारा आयोजित ७ दिने बैंकिङ ट्रेनिङको समापन कार्यक्रममा यस्तो बताइएको हो ।

कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् अनुसन्धान विभागका प्रमुख नरबहादुर थापाले प्रविधिको प्रयोगबारे ग्राहकहरु जानकार नहुँदा वित्तीय पहुँच विस्तारमा बाधा पुगेको बताए ।

पूर्वाधार तथा सुरक्षाको अभावका कारण बैंकहरुले शाखा विस्तार गर्न नसकेको दुर्गम भेगहरुमा प्रविधिमार्फत बैंकिङ पहुँच पु¥यउन सकिने बताउँदै थापाले वित्तीय साक्षरता विस्तारमा राष्ट्र बैंकले मात्र नभएर सबै बैंक तथा वित्तीय संस्थाले पनि पहल गर्नुपर्ने बताए ।

‘लागत घटाउने र उत्पादकत्व बढाउने उद्देश्यले बैंकिङ क्षेत्रमा प्रविधिको विकास गर्नुपर्ने कुरामा जोड दिइँदै आइएको छ’, उनले भने, ‘यद्यपि, बैंकहरुले प्रविधिको विकास गर्दै लगेपनि उक्त प्रविधिको प्रयोग गर्ने ग्राहकको संख्या अत्यन्तै न्युन हुने गरेको छ ।’

वित्तीय पहुँच भन्दा पनि चेतनाको अभावकै कारण मुलुकमा बैंकिङ प्रविधिको प्रयोगमा वृद्धि हुन नसकेको थापाको भनाइ थियो । थापाका अनुसार, नेपालको ३४ प्रतिशत जनसंख्या बैंकिङ पहुँचभित्र रहेका छन् भने १८ प्रतिशत जनसंख्या मात्रै वित्तीय रुपमा साक्षर छन् ।

कार्यक्रममा बोल्दै डेभलपमेन्ट बैंकर्स संघाका अध्यक्ष एवम् मुक्तिनाथ विकास बैंकका सिईओ भरतराज ढकालले कारोबारलाई छिटो छरितो एवम् सुरक्षित बनाउनका लागि प्रविधिको प्रयोग अत्यावश्यक रहेको बताए ।

नेपालमा बैंकहरुले समयसापेक्ष रुपमा प्रविधिको विकास गर्दै लगेको भएतापनि ग्राहकहरुको संख्या न्युन हुँदा लागत समेत उठ्न नसक्ने स्थिती रहेको उनले बताए ।

उनले भने, ‘सानो रकम निकाल्न वा जम्मा गर्न बैंक नै धाउनुपर्ने, बीमा, स्कुल फी, विजुली तथा पानीको बिल लगायतको भुक्तानीका लागि बैंकबाट निकालेर बुझाउनुपर्ने लगायतका झन्झट व्यहोर्नुपरेको स्थितीबाट आज हामी मोबाइलबाटै हरेक बैंकिङ कारोबार हुने स्थितीमा आइपुगिसकेका छौँ ।’

प्रविधिको प्रयोगबाट बैंक तथा वित्तीय संस्थालाई मात्र नभएर ग्राहकहरुलाई समेत वित्तीय कारोबारमा सहज भएको उनको भनाइ थियो ।

 

प्रतिकृया दिनुहोस