गठबन्धनको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक आज बस्ने

Sher b deuba prachanda madhav kumar nepal and upendra yadav

काठमाडौं । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन घोषणा गरेसँगै निर्वाचनको सरगर्मी बढ्न थालेको छ । आगामी निर्वाचनमा सत्ता गठबन्धन कायम राख्ने सहमति गरेसँगै गठबन्धन दलहरुबचि सिट बाँडफाटमा किलचो हुने आशंका पनि जन्मिएको छ ।

तथापि आम निर्वाचनको सिट बाँडफाँटका लागि बनेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकले सिट बाँडफाँटको मोडालिटीबारे छलफल गर्ने बताइएको छ । सत्ता गठबन्धनका पाँच दलले बनाएको ११ सदस्यीय समिति कार्यदलले साउन महिनाभित्र सिट बाँडफाँटको मोडल प्रस्ताव गर्ने समयसीमा पाएको छ।

बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता राष्ट्रिय अभियान पार्टीले गठबन्धनको लागि प्रयास गरिरहेको बेला पाँच दलले भने गठबन्धन बाहेकलाई सहभागी नगराउने निर्णय गरेका छन् ।

पाँच दलीय सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटका लागि कार्यदल गठन गरेको थियो । सो कार्यदलमा नेपाली कांग्रेसबाट ४, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य रहेका छन् ।

कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

 

प्रतिकृया दिनुहोस