बस्ती पस्यो सप्तकोशीको भंगालो, १ हजार ७ सय परिवार विस्थापित हुनसक्ने

२०३० सालसम्म सप्तकोसी नदी सोही धारबाट बग्ने गरेको थियो

Koshi katan

धरान । सप्तकोशी नदीको भंगालो बस्तीमा पसेको छ । तीन सातादेखि भंगालोलाई रोक्ने प्रयास गरे पनि आज बिहान ४ बजेदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु-चिलिया बस्ती पसेको हो ।

सप्तकोशी नदी बस्तीमा पसेपछि उदयपुरको वेलका नगरपालिकाका नागरिकले गाउँ छाडेका छन् । आज बिहान ४ बजेदेखि नदीले कटान गरी गाउँ पस्न थालेपछि स्थानीयवासीले गाउँ छाडेका हुन् ।

प्रभावितले पशुधन, लत्ताकपडा बोकेर गाउँ छोडेको तस्वीर सामाजिक सञ्जालमा देखिन्छ । उनीहरूले सुरक्षित स्थान खोज्दै गाउँ छोडे पनि कहाँ बस्ने भन्ने टुंगो लागि सकेको छैन् ।

आज बिहान ४ बजेदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । नदी बस्तीमा पसेपछि एक हजार बढी घरपरिवारका करिब २० हजार नागरिक प्रभावित हुनसक्ने वेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए ।

अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय उदयपुर, बेलका नगरपालिकाको टोली उद्धारमा खटिएको छ । उनीहरूले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा लैजान सहयोग गरिरहेका छन् ।

कोसी छिर्दा वेलका नगरपालिकाका १ हजार ७ सय परिवारका २० हजारभन्दा बढीको बसोबास जोखिममा परेका छ । अहिलेको अवस्थामा धारै परिर्वतन हुँदा छिमेकी सप्तरी जिल्लाको सप्तकोसी र कन्चनरुप नगरपालिकाका साथै सुनसरीमा समेत क्षति पुग्ने बताइन्छ ।

अहिले कटान गरिहेको डुम्रिबोटे क्षेत्र रोक्न गरिएका सबै खाले प्रयास असफल भएको नगरप्रमुख कार्कीले बताए । त्यसैले जोखिम क्षेत्रका सर्वसाधारणलाई घर छाडेर सुरक्षित स्थानमा जान सूचना जारी गरिएको उनले बताए । २०३० सालसम्म सप्तकोसी नदी सोही धारबाट बग्ने गरेको थियो ।

लगातारको वर्षातका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। तर भारतले सबै ढोका नखोलेका कारण कोसी आसपासका बासिन्दा त्रसित भएका छन् ।

बुधबार बिहान सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ३२ ढोका खोलिएको जानकारी दिए। सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।

प्रतिकृया दिनुहोस