अदालतद्धारा विप्लव समुहका चन्द र प्रकाण्डलाई पक्राउ पुर्जी जारी (पक्राउ पुर्जीसहित)

Biplap prakanda

काठमाडौं । हतियारको राजनीति त्यागी शान्ति प्रक्रियामा आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायतका नेतालाई पक्राउ पुर्जी जारी भएको छ ।

२०७७ साल साउन १६ गते सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको थियो । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोलीले विप्लव समुहसँग वार्ता गरी शािन्त प्रक्रियामा ल्याएको थियो । तर, अदालतले पुरानो मुद्यालाई ब्यूत्याँइदिएको छ ।

सरकारसँग वार्ता सफल भएसँगै २०७७ फागुन २० गते प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । र, शान्तिपूर्ण राजनीतिमा आउन सरकारसँग तीनबुँदे सहमति गरेको थियो ।

हत्या हिंसामा लागेको भन्दै सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो । सरकारसँग भएको ३ बुँदे सहमतिपछि गृह मन्त्रालयले हिरासतमा रहेका विप्लव समूहका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको थियो ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको थियो ।

हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै उनीहरुलाई पक्राउ पुर्जी जारी गरिएको हो ।

ललितपुर जिल्ला अदालतले सोमबार जारी गरेको पक्राउ पुर्जीमा ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ ।

प्रतिकृया दिनुहोस