मंसिर २ गते एकै चरणमा निर्वाचन गर्न आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सिफारिस गरेको छ ।
बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले मंसिर २ मा निर्वाचन गर्न सिफारिस गरेको हो ।
निर्वाचनको मिति निर्वाचन आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोग स्रोतका अनुसार आयोग पदाधिकारीले १२० दिन तयारीको समय पुग्ने गरी मिति घोषणा गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् । भेटमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको भन्दै आयोगलाई धन्यवाद ज्ञापन गरेका छन् ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र संघको निर्वाचन एकैचरणमा गर्ने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले प्रदेश र संघको निर्वाचन एकैचरणमा गर्ने बताएका हुन् ।
प्रतिकृया दिनुहोस