मंसिर २ मै निर्वाचन गर्न आयोगको सिफारीस, केही सातामै सरकारले मिति घोषणा गर्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २ गते शुक्रबार प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने भएको छ । निर्वाचन आयोगले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको हो ।
उपधारा ३ मा उपधारा २ बमोजिम थप गरिएको प्रतिनिधिसभाको कार्यकाल संकटकालीन अवस्थाको घोषणा वा आदेश खारेज भएको मितिले ६ महिना पछि स्वतः समाप्त हुने उल्लेख छ । अहिले संकटकालको अवस्था नभएकाले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षमा पूरा हुनेछ ।
यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन भएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले मंसिर १० र २१ गते दुई चरणमा संसदीय निर्वाचन गरेको थियो । प्रदेशसभाको चुनाव पनि सँगै भएको थियो । यस पटक पनि देउवाकै नेतृत्वमा तीनै तहको निर्वाचन हुने भएको छ ।
आयोगको सिफारिसका आधारमा १२० दिन समय राखेर मन्त्रिपरिषद्ले केही साताभित्र निर्वाचन मिति घोषणा गर्ने छ । आयोगले एकै चरणमा दुवै तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको छ ।
यसअघि स्थानीय तह निर्वाचनमा सरकारले सुरक्षा दिन नसकेको भन्दै दुई चरणमा गर्नेबारे आयोगमा छलफल भएको थियो । तर, एकै चरणमा मंसिर २ मा चुनाव गर्न उपयुक्त हुने निष्कर्षमा आयोग पुगेको छ ।
हिउँद लागेपछि हिमाली भेगमा चुनाव गर्न गाह्रो हुने भन्दै आयोगले यसअघि कात्तिक ३० भित्रै पहिलो चरण र मंसिर पहिलो साता दोस्रो चरणमा चुनाव गर्न सरकारलाई अनौपचारिक सुझाव दिएको थियो ।
२०७४ सालमा निर्वाचन आयोगले समानुपातिकसहितको अन्तिम परिणाम ढिलो दिएका कारण सांसदहरूले फागुन २० गतेदेखि कार्य प्रारम्भ गरेका थिए ।
मंसिरमा निर्वाचन भए पनि सांसदहरुले फागुनमा सपथ खाएर कार्य प्रारम्भ गरेका कारण प्रतिनिधिसभाको कार्यकाल मंसिरमा सकिन्छ कि फागुनमा भन्नेमा अन्योल छ ।
प्रतिनिधिसभाको कार्यकाल पूरा हुन ६ महिना बाँकी रहँदासम्म चुनावको मिति घोषणा गर्न संवैधानिक जटिलता हुने संविधानका जानकारहरु बताउँछन् ।
प्रतिकृया दिनुहोस