वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

Dormani paudel

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढिरहेका बेला नेपालमा भिआइपीहरुलाई धमाधम कोरोना संक्रमण भइरहेको छ । पछिल्लोपटक बिहीबार मात्रै पनि वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण भएको छ ।

काठमाडौंबाट हेटौंडा फर्किएपछि ७३ वर्षिय पौडेलमा सामान्य रुघाखोकी देखिएपछि बुधबार हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्टमा मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

‘बिहीबार दिउँसो कोरोना संक्रमण पुष्टि भएका मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य छ । मुख्यमन्त्री पौडेल हाल हेटौंडा–२ स्थित मुख्यमन्त्री निवासमै आइसोलेसनमा छन् ।

मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत सङ्क्रमण पुष्टि भएको छ ।

बिहीबार पछिल्लो २४ घन्टामा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।संक्रमितमध्ये झण्डै आधा काठमाडौं उपत्यकाका छन् ।

पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण भएसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ ।

बिहीबार संक्रमित थपिने सुचीमा मुख्यमन्त्री पौडेल पनि परेका छन् । यसअघि पर्यटनमन्त्री योगेश भट्टराई र शिक्षामन्त्री गिरिराजमणी पोख्रेललाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिकृया दिनुहोस