सञ्चारकर्मीसहित बारा, पर्सा र रौतहटमा १५६ जनामा कोरोना संक्रमण

Corona 3

काठमाडौं । पर्सा, बारा र रौतहटमा आइतबार १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९ जना बारा, ५ जना रौतहट र बाँकी पर्साका बासिन्दा हुन् ।

पर्सामा हालसम्म कोभिड–१९ को संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । २८ जनामध्ये एउटा बेवारिसे शवको पहिचान खुलेको छैन ।

पर्सामा एकै दिन थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा वीरगन्जको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफएमका ५ जना संचारकर्मी पनि छन् ।

नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा ३ सय २० वटा स्वाब नमूना परीक्षण गर्दा ३४ जना महिलासहित १५६ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेर समूहका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । जीतपुर आर्मी ब्यारेकका दुईजना स्टाफ संक्रमित भएका छन् । नेपाल फर्मास्युटिकल्स लिमिटेडका ९ जना र हिमाल आइरन स्टिलका ३ जना स्टाफमा संक्रमण पुष्टि भएको छ । सुख्खा बन्दरगाहका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ ।

यसअघि पर्सामा ३ सय ८७ जना महिलासहित १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमा २२ जना भारतीय नागरिक, १२० जना स्वास्थ्यकर्मी, ८६ सुरक्षाकर्मी, ८ जना पत्रकार, ८९ कैदी थुनुवा, ४८ जना अस्पताल सफाइकर्मी, गार्ड र कार्यालय सहयोगीसमेत संक्रमित भए । जसमध्ये ७४ जना महिलासहित ३ सय ५६ जना कोरोना मुक्त भई घर फर्केका छन् ।

३४ जना महिलासहित १ सय ४३ जना संक्रमित आइसोलेसनमा छन् । २ सय ४ जना महिलासहित ६१० जना होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

१७ हजार ५ सय १ जनाको स्वाब संकलन गरिएकोमा ३ सय ३० जनाको रिपोर्ट आउन बाँकी छ । शनिबार २ सय ३५ जनाको स्वाब संकलन गरिएको छ ।

 

प्रतिकृया दिनुहोस