रुपन्देही र बारामा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

Corona death all use

काठमाडौं । नेपालमा पछिल्लोपटक कोरोनो संक्रमितको मृत्युदर ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले बिहीबार दिउँसो ४ बजेसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको पुष्टि गरेको छ ।

त्यसयता पनि रुपन्देही र बारामा गरी थप दुई जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २८ पुगेको । यद्यपि यसको आधिकारिक पुष्टि भने स्वास्थ्य मन्त्रालय शुक्रबार ४ बजेपछि मात्रै गर्नेछ ।

रुपन्देहीको देवदहमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । देवदह मेडिकल कलेज भलुहीमा उपचाररत देवदह नगरपालिका –३ स्थित शिशपुरका ७० वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको हो ।

देवदह नगरपालिकाका स्वास्थ्य संयोजक काशिनाथ बञ्जाडेका अनुसार बुधबार मात्रै ती पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । मृतकमा उच्च रक्तचाप, पक्षघात र मधुमेहको समस्या समेत रहेको थियो ।

केही दिनअघि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गराएका उनको देवदह मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

यता, बारामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुने बाराका मात्रै ५ जना पुगेको छ ।

कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । बुधबार राति ११ बजेतिर अचानक श्वास प्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याएलगत्तै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी नारायणी अस्पतालले दिएको छ ।

कुल ३२ जनाको मृत्यु भएकोमा २३ जना पर्साका र २ जना रौतहटका छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिशे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।

 

प्रतिकृया दिनुहोस