कोरोना संक्रमणबाट कांग्रेस उपसभापति गिरीको मृत्यु

Suwas giri patan corona

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति ३८ वर्षीय सुवाशचन्द्र गिरीको आज बिहान ६ बजे मृत्यु भएको छ ।

पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नं. २ स्थायी घर भएका गिरी जिल्लाका कांग्रेस उपसभापति थिए । तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा थिए । पछिल्लोपटक फोरम लोकतान्त्रिकका नेता रहेका उनी कांग्रेससँग एकीकरणपछि नेपाली कांग्रेसको उपसभापति भएका थिए ।

कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको थियो । उनको यपचारकै क्रममा आज बिहान ६ बजेतिर मृत्यु भएको हो ।

गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । त्यसपछि श्वासप्रश्वासमा समस्या देखिएको र पुनः मेडिकल कलेजमा जाँच गराउँदा निमोनिया देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसपछि बुटवलको कोरोना अस्पतालमा एक दिन भर्ना भएर उपचार गराएका गिरीलाई थप उपचारका लागि पाटन अस्पताल लगिएको थियो ।

प्रतिकृया दिनुहोस