धुलिखेल अस्पतालमा उपचाररत काठमाडौंका ९८ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु

Corona death all use

काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत ९८ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौं नयाँ बानेश्वर घर भएका ९८ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ । कार्यविधिअनुसार नै उनको शव व्यवस्थापन गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।

नयाँ बानेश्वरस्थित घरमा रहँदा कोरोनाको लक्षण देखिएपछि धुलिखेल अस्पतालमा पिसिआर परीक्षण गरिएको थियो । पिसिआर पोजेटिभ आएपछि गएको साउन २६ गतेदेखि उनको आइसियुमा उपचार भइरहेको थियो ।

पुरानो घर काभ्रेको धुलिखेल नगरपालिका वडा नं ७ हो । परिवारले उनको उपचार धुलिखेलमै लैजाने निर्णय गरेको थियो । प्लाज्मा थेरापी उपचार विधिबाट उपचार गर्ने आफन्तको प्रयास सफल हुन सकेको छैन ।

नयाँ बानेश्वरमा घर बाहिर नगएका ती वृद्धमा कहाँबाट कोरोना संक्रमण भयो भन्न पत्ता लाग्न सकेको छैन । ती पुरुषमा कोरोना संक्रमण भएपछि हेरचाह गर्ने छोरा बुहारीमा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरु होमक्वारेन्टाइनमा छन् ।

योसँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि साउन २६ गते पाँचखाल १ की ५० वर्षीया महिलाको ललितपुरस्थित किस्ट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

 

 

प्रतिकृया दिनुहोस