धरानमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

Mritu

काठमाडौँ । कोभिड–१९ बाट प्रदेशमा थप एक जनाको ज्यान गएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् ५० वर्षीया महिलाको आइतबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

उच्च ज्वरोका साथै, श्वास फेर्न समस्या भएपछि विराटनगरको न्यूरो अस्पतालबाट रिफर भएकी महिलालाई शनिबार राति ११ः३० मा प्रतिष्ठानमा भर्ना गरिएको थियो । विराटनगर तिनपानीकी उनलाई ४/५ दिनदेखि ज्वरो, खोकी र श्वास फेर्न समस्या देखिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताए ।

उनमा फोक्सो र थाइराइडका साथै मुटुसम्बन्धी समस्या रहेको र यसअघि भारतमा उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ । उनको शव नियमअनुसार व्यवस्थापनको तयारी भइरहेको प्रवक्ता सापकोटाले भने ।

यो सँगै प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । जसमध्ये ४ जना प्रदेश २ का छन् भने ९ जना मोरङका मात्रै छन् ।

प्रतिकृया दिनुहोस