संविधानसभा पदक : कोही लिन जानै नमिल्ने, कोही जाँदै नजाने

मृतदेखि जिउँदै रहेकासम्मकै मर्यादाक्रममा ‘संविधानसभा पदक’

काठमाडौं । बिहीबार संविधाननिर्माणमा योगदान दिने संविधानसभाका सदस्यहरुलाई निक्कै तामझामका साथ ‘संविधानसभा पदक’ बाट विभुषित गरियो । यसरी विभुषित हुने लिष्टमा थिए खड्गबहादुर विश्वकर्मा, उमा भुजेल र सन्तोष बुढा मगरको नाम पनि थियो । 

उनीहरु संविधान निर्माणका बेला सदस्य थिए । आज उनी यही संविधानको विरोधमा छन् । अर्थात् यही संविधानमा टेकेर राजनीतिक उपलब्धी हासिल गर्न सकिन्न भनेर विद्रोह गरिरहेका छन् । र राज्यले उनीहरुलाई खुल्ला रुपमा राजनीतिक गतिविधि गर्न नपाउने गरी रोक लगाएको छ । 

सरकारले उनीहरु आवद्ध नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भए पनि संविधानसभाको सदस्यको हैसियतमा ‘संविधानसभा पदक’ लिन आमन्त्रण गरेको थियो । तर, सरकारले नै उनीहरुलाई प्रतिवन्ध लगाएका कारण ‘संविधानसभा पदक’ लिन आएनन् । यदी उनीहरु सा पदक लिन आएको भए दिन्थ्यो वा दिन्न थियो भन्ने चर्चाको विषय बन्न थालेको छ । 

गृह मन्त्रालयले पदक लिन समयसहितको निमन्त्रणा कार्ड छापेको भए पनि विप्लव नेतृत्वको पार्टीका भएका कारण ३ जनाले नै पदक लिएनन् । 

खुल्लाले पनि लिएनन् 

संविधानले नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाएको छ । दश संघीयतामा पनि गएको छ । राजसंस्था पनि अहिले छैन । यही धर्म निरपेक्षता, संघीयता र गणतन्त्र नमान्नेहरु पनि छन् । संविधानसभाको माग गर्दै लामो समयसम्म आन्दोलन गर्ने चित्रबहादुर केसीहरु संघीयता मान्दैनन् । तर गणतन्त्रलाई मान्छन् । संविधानसभामा प्रतिनिधित्व गरेको भए पनि कमल थापा र डा. प्रकाशचन्द्र लोहनीहरु धर्म निरपेक्षतालाई पनि मान्दैनन् । 

उनीहरुले अझै हिन्दु राज्य र राजसंस्थाको वकालत गर्दै आएका छन् । त्यही भएर पनि डा. प्रकाशचन्द्र लोहनीले खुलेर संविधानसभा पदक वहिष्कार गरे । उनी राप्रपा संयुक्तका अध्यक्ष हुन् । उनको पार्टीका १७ जना सभासद आवद्ध छन् । झापाका सभासद सइन्द्र वान्तवाले सामाजिक सञ्जालमा स्टाटस लेखेर पदक बहिष्कार गरे । डा. लोहनीले आफु एक्लैले बहिष्कार गरे पनि अन्यले बहिष्कार गरेनन् ।  

यता लामो समयदेखि राजतन्त्रको वकालत गर्दै आएका राप्रपाका अध्यक्ष कमल थापाले पनि संविधानसभा पदक थापेनन् । उनको पार्टीले संविधानसभा पदक बहिष्कार गर्ने नितीगत निर्णय नगरेका कारण केही सभासदले पदक थापे भने केहीले थापेनन् ।  

पदक थाप्न मर्यादाक्रम 

बिहान र दिउँसो गरे दुई चरणमा पदक वितरण गरियो । पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै एक हजार १ सय ६ सभासद्लाई सम्मान गरियो । विभुषित गर्नेहरुको नाम सरकारी वरियताअनुसार राखियो । सूचीको ४५ औं नम्बरसम्म हालको बरियताका आधारमा नाम समावेश गरिएको छ भने त्यसपछि अल्फाबेटिकल अर्डर अनुसार नामहरु समावेश गरियो । 

विभूषित गर्ने सूचीको पहिलो नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारी नै परिन् । उनी दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गरेकी थिइन् । दोस्रो नम्बरमा प्रधानमन्त्री केपी ओली परे । तेस्रो नम्बरमा सभामुख कृष्णबहादुर महरा, चौथो नम्बरमा पूर्व राष्ट्रपति डा. रामवरण यादव, पाँचौ नम्बरमा उपेन्द्र यादव थिए ।

त्यसपछि क्रमशः पूर्वप्रधानमन्त्रीहरुमा लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र शुशील कोइरालाको नाम थियो । यो नाममध्ये गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा र शुशील कोइरालाको मृत्यु भइसकेको छ । 

नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा नेपालको संविधान भाग ३२ अन्तर्गत धारा २७७ को उपधारा १ बमोजिम नेपालको संविधान निर्माणमा योगदान पु¥याएबापत सभासद्लाई सम्मान गरिएको हो । नेपालको इतिहासमा पहिलोपटक विसं २०६४ चैत २८ गते र विसं २०७० मङ्सिर ४ गते दोस्रो संविधानसभाको निर्वाचन भएको थियो । 

प्रतिकृया दिनुहोस