राप्रपा संयुक्तले मनायो पार्टीको २९ औं स्थापना दिवस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले फरकफरक रुपमा पार्टी स्थापना दिवस मनाएका छन् । दुबै पार्टीले पार्टीको २९ औं स्थापना दिवस फरकफरक रुपमा आ–आफ्नो पार्टी कार्यालयमा मनाएका हुन् ।  

राप्रपा (संयुक्त) ले पार्टीको २९ औं स्थापना दिवस पार्टी कार्यालय चावहिलमा मनाएको छ । पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पार्टीको झन्डोत्तलनपछि भएको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकमा एक सशक्त र वलियो राष्ट्रवादी शक्ति आवश्यक रहेकाले आफ्नो पार्टी बलियो शक्तिको रुपमा उदाउने बताए । 

उनले सो कार्यक्रममा गृहमन्त्रालयले आफुलाई संविधान निर्माणसम्वन्धि पदक लिन बोलाए पनि यो संविधानमा धर्म सापेक्षता र राजसंस्था आफ्नो पार्टीको मुल ऐजेन्डा रहेको र वर्तमान संविधानले सो विषयलाई सम्बोधन गर्न नसक्ने भएकाले आफुले बहिष्कार गरेको बताए । 

‘संविधानमा थुप्रै सकारात्मक कुराहरु छन्, त्यसलाई हामीले स्वीकार गर्छौ’ उनले भने ‘तर पार्टीले जुन उदेश्य लिएर हिडेको छ, त्यो कुरा संविधानमा उल्लेख छैन । त्यही भएर संविधान निर्माण सम्बनधी पदक लिनुपर्छ भन्ने मलाई लाग्दैन ।’ उनले सरकार भ्रष्टाचारमा लिप्त रहेको र यसले गरिव नेपालीलाई सरकारले जनतालई केही दिन नसकेको आरोप पनि लगाए । 

सो अवसरमा पार्टीको नेता हरिवहादुर वस्नेत,  पुर्वमन्त्री एवं नेता विक्रम पाण्डे, सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान लगायतले शुभकामना व्यक्त गरेको संचार समिति सदस्य जनकराज पाठकले जानकारी दिए । 

प्रतिकृया दिनुहोस