प्रहरीको स्कुल बस र ट्रक एक-आपसमा ठोक्किँदा एक बालिकाको मृत्यु, १० विद्यार्थी घाइते

Durghatana

रौतहट । नेपाल प्रहरीको स्कुल बस र ट्रक ठोक्किदा बसमा सवार विद्यार्थी बालिकाको मृत्यु भएको छ ।

नेपाल प्रहरीको स्कुल बसमा सवार नर्सरी कक्षामा अध्ययनरत ४ वर्षिय बालिका क्यारोरिन राइको भरतपुरस्थित पुरानो मेडिकल कलेज अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।

सिन्धुली जिल्ला गोल्नजोर गाउँपालिका वाड नं. ७ राताटारका सुवास कुमार राइको छोरीको उपचारको क्रममा मृत्यु भएको हो ।

मंगलबार नेपाल पुलिस स्कुलको शाखाबाट विद्यार्थी र शिक्षक बोकेर गरुडा नगरपालिका वाड नं. ८ जिंगडियामा रहेको विद्यालयको होस्टलतर्फ जाँदै गरेको बा १ ग २१७९ नं.को ट्रक र विपरीत दिशाबाट ना ३ ख ७४१८ उखु बोकेको ट्रक ठोकिएको थियो ।

शिक्षक, विद्यार्थी गरी २५ जना बोकेर हिडेको सो बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ट्रक चालक बारा निजगढका प्रह्लाद थपलियाले ओभरटेक गर्ने क्रममा ट्रकलाई सम्हाल्न नसकेपछि विद्यार्थी बाहक बसमा ठोकिएर पल्टेको बताइएको छ ।

घटनामा बसका चालक डम्बर विक, ट्रकका चालक थपलिया, शिक्षिकाद्वय निरुपा कार्की र ईश्वरी थापा घाइते छन् ।

बसका विद्यार्थीहरु आयात सिंह, युवराज पटेल, कृतिका रन्जन, सौगात सारु, आर्यन र स्तोगीलगायत रहेका छन् । ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस