सबै जिल्लामा स्वास्थ्य विमा विस्तार गर्नुपर्ने माग

Rss images 1443775704432 pro ktm samsad baithak 2 1

काठमाडौं । स्वास्थ्य बीमालाई देशब्यापी विस्तार गर्न माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । पूर्व स्वास्थ्यमन्त्रीसमेत रहनुभएका नेकपा सांसद खगराज अधिकारीले प्रस्ताव प्रस्तुत गर्दै सबै जिल्लामा स्वास्थ्य बीमाको कार्यक्रम विस्तार गर्नुपर्ने बताए ।

स्वास्थ्य बीमामार्फत स्तरीय स्वास्थ्य सेवा दिन जनशक्ति उत्पादनमा पनि जोड दिनुपर्ने उल्लेख गर्दै सांसद अधिकारीले १४ सय डाक्टरले जनतालाई गुणस्तरीय सेवा दिन अप्ठेरो हुने धारणा राखे । अधिकारीको प्रस्तावमा समर्थन जनाउँदै सांसद अञ्जना विशंखेले स्वास्थ्य मन्त्रालयबाट तिव्र गतिमा अस्पताल खोल्ने कार्य भइरहेको तर जनशक्तिमा ध्यान नदिइएको पाइएको बताए ।

सांसद मनकुमारी जिसीले जनताको नैसर्गिक अधिकारका रुपमा रहेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताईन् । जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् । नेपाली काँग्रेसका सांसद पुष्पा भुसालले स्वास्थ्य बीमामा सहभागी भएकाहरुले निरन्तर नवीकरण गर्ने र बीमाको प्रिमियम तिर्न नसक्ने भन्दै विपन्नलाई सहुलियत दिनुपर्ने धारणा राखिन् ।

नेकपाका सांसद रामकुमार झाँक्रीले स्वास्थ्य बीमाका नाममा व्यापार समेत हुने गरेको भन्दै त्यस्तो व्यापार रोक्न माग गरिन् । यसैबीच, स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले २०३० सम्म नेपालका सबै नागरिकको स्वास्थ्य बीमा गरिने बताएका छन् ।

स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री यादवले २०३० सम्म सबै नागरिकको स्वास्थ्य बीमा गरिने बताएका हुन् । २०२० सम्म ५० प्रतिशतको बीमा गर्ने र ३० सम्म सबैको पहुँचमा बीमा र्पुयाउने उनको दावी छ ।

प्रतिकृया दिनुहोस