यी हुन् विदेश पढ्न जानेले ध्यान दिनैपर्ने कुरा

Bidhyarthi

काठमाडौं   । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या प्रत्येक वर्ष बढ्दो छ । यो वर्ष झनै दोब्बर बढेको छ । नेपालमा शैक्षिक बेरोजगारीको समस्या कायमै रहनु, उच्च शिक्षाको गुणस्तर र आकर्षण नहुनु आदिजस्ता कारणले यहाँका विद्यार्थी हजारौँको संख्यामा विदेश जाने गर्छन् ।

तर, विदेश गएर पढ्न त्यति सजिलो छैन । नबुझी गएमा असफल हुने र ठगिने सम्भावना पनि उत्तिकै हुन्छ । त्यसैले, विद्यार्थीले निम्न कुरामा चनाखो हुन आवश्यक छ ।

जाने ठाउँ
पढ्नका लागि जाने ठाउँ वा बस्ने ठाउँबारे जानुभन्दा अगाडि नै थाहा हुन आवश्यक छ । भिजा एप्लाई गर्न लागेको सम्बन्धित कन्सलटेन्सीले उक्त ठाउँको सम्पूर्ण जानकारी प्रायः दिने गर्छ । त्यहाँ गएपछि के गर्ने, कहाँ बस्ने आदि कुरा कन्सलटेन्सीबाट पूर्ण जानकारी लिनुपर्छ ।

पढ्ने विषय
शैक्षिक योग्यताका आधारमा आफूले पढ्न लागेको कोर्स वा विषय राम्ररी बुझ्नुपर्छ । उक्त कोर्सले सम्बन्धित देशमा सरकारी मान्यता पाएको÷नपाएको जानकारी हुनुपर्छ । त्यस्तै, योग्यता हासिल गरेर फर्केपछि नेपालमा उक्त विषयले  मान्यता पाउँछ/पाउँदैन र उपयोगिता कति छ भन्नेबारे पनि पहिले नै सचेत हुनुपर्छ ।

आर्थिक अवस्था
विदेशमा पढ्न जानका लागि कम्तीमा पहिलो सेमेस्टरको पढाइ खर्च जुटाउनुपर्छ । साथै, बस्न र विविध खर्चका निम्तिसमेत जानुपूर्व नै व्यवस्था मिलाउनुपर्छ । यसका लागि लाखौँ रुपैया जम्मा गर्नुपर्ने हुन्छ । तसर्थ, विद्यार्थीले आफ्नो परिवारको आर्थिक स्थितिलाई ध्यान दिनुपर्छ । अभिभावकले धान्न सक्ने/नसक्ने बारेमा बुझेर मात्र निर्णय लिनुपर्छ । अर्थात्, साथीभाइको मात्रै लहैलहैमा लागेर विदेश जाने योजना बनाउनुहुँदैन ।
शैक्षिक योग्यता
विद्यार्थीको शैक्षिक योग्यताका आधारमा शिक्षण संस्थाले उनीहरूलाई भर्ना गर्ने गर्छन् । कतिपय विश्वविद्यालयले महँगो खर्चमा कम योग्यता भएका विद्यार्थीलाई समेत भर्ना गर्ने गरेका छन् । तसर्थ, योग्यता, आफूले पढ्ने विषय र कोर्सबारे विद्यार्थी आफैँ सचेत हुनुपर्छ ।

शैक्षिक संस्था 
आफू जान लागेको कलेज वा युनिभर्सिटीबारे पर्याप्त जानकारी लिनुपर्छ । त्यस्तै, कलेज वा युनिभर्ससिटीको स्कोर -यांकिङ, उक्त शैक्षिक संस्थाले संसारभर कमाएको ख्यातिजस्ता विषय बुझ्न आवश्यक हुन्छ ।

प्रतिकृया दिनुहोस