रेणुको विरोध गर्न काठमाडौंमा पत्रकार सम्मेलन, उपमेयर पार्वती शाह भन्छिन्, जिताएर गल्ती गरियो

Parbati thakuri

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस र तत्कालीन माओवादीको गठबन्धनबाट मेयरमा प्रचण्ड पुत्री रेणु दाहाल विजयी भइन् । उपमेयर भने कांग्रेसकी पार्वती शाह विजयी बनिन् ।

तर, अहिले एउटै गठबन्धनबाट विजयी बनेका मेयर र उपमेयरबीच पानी बाराबार जस्तै भएको छ । उपमेयर शाहले त काठमाडौंमा पत्रकार सम्मेलन गरेरै रेनु दाहाललाई मेयरमा जिताएर गल्ती महसुस भएको पनि बताएकी छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कांग्रेसबाट उपमेयरमा निर्वाचित शाहले भनिन्, ‘उहाँले कसरी चुनाव जित्नुभयो, राष्ट्रिय अन्तर्राष्ट्रियलाई थाहा छ । तर, अहिले गल्ती गरियो भन्ने लागेको छ ।’

उनले महानगर मेयरले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आरोप पनि लगाएकी छन् । उनले आफूले जिम्मेवारी निर्वाह गर्दा आइपरेका समस्या र महानगरपालिकाको अवस्थाका बारेमा जानकारी गराएकी हुन् ।

उनले भनिन्, ‘कार्यपालिका बैठकमा ल्याइने एजेण्डा एकलौटी तरिकाले ल्याउने गरिएको छ, समयमा जानकारीसमेत हुँदैन, एजेण्डामा कुनै विमति राख्दा ‘महानगर प्रमुखले चलाउने हो तपाईंले होइन’ जस्ता शब्द प्रयोग गर्ने गरिएको छ ।’

महानगरमा लेखा समिति गठन नगरी अनियमितता बढेको, जिन्सी समिति गठन नगरिएको, महत्वपूर्ण समिति एकलौटी ढङ्गले गठन गरेको, आस्था र विचारका आधारमा कर्मचारीलाई दुःख दिने काम गरिएको उनको आरोप छ । ‘दुई वर्षसम्म पनि लेखा समिति गठन भएको छैन, जिन्सी समिति गठन भएको छैन’ उनले भनिन्, ‘महानगरपालिकामा अनियमितता बढेको छ ।’

स्थानीय सरकार सञ्चालन ऐनमा प्राप्त उपमेयरको अधिकारलाई प्रयोग गर्न प्राविधिक तथा कर्मचारी महानगरले पर्याप्त नदिएको उनको गुनासो थियो ।

प्रतिकृया दिनुहोस