कमल थापा भन्छन्, १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गरौं

Kamal thapa 13

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस विषयमा गम्भीर समिक्षा गर्नुपर्ने बताए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा पछिल्लो १२ वर्ष देशले अवलम्बन गरेको मार्गचित्र नै त्रुटिपूर्ण भएको भन्दै थापाले २०६२ मा तत्कालिन नेकपा माओवादी र ७ दलबीच भारतमा भएको सम्झौतालाई त्यसबेला नै आफूहरुले अपवित्र भनेर टिप्पणी गरेको स्मरण गराए ।

‘यो १२ वर्षको अवधिलाई इमानदारितापूर्वक समिक्षा गरौँ । किन देशमा स्थायित्व भएन ? किन परिवर्तन भएन ?’ उनले अर्काे प्रश्न गरे, ‘राष्ट्र विखण्डनको आवाज किन उठ्यो ? शान्ति प्रक्रिया टुङ्गिनुपर्ने बेलामा अर्को माओवादी विद्रोहको विउ कहाँबाट र किन आयो ?’

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विधि र प्रक्रिया मिचेर जनतालाई थाहै नदिई ल्याएकाले अब समिक्षा गर्नुपर्ने बेला आएको थापाको जिकिर छ । थापाले यस्तै अवस्था रहे आगामी दिनमा नेपालमा ठूलै राजनीतिक अराजकता निम्तिन सक्ने चेतावनी पनि दिएका छन् । गणतन्त्रले बेथिती मात्रै बढाएको भन्दै अव लोकतन्त्रसहितको राजसंस्था स्थापना गर्नुपर्ने थापाको भनाई छ ।

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाईएको २२ बुँदे माग समेटिएको ज्ञापनपत्रमा नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोलमेच सम्मेलन तथा सुशासनका लागि २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन लगायतका माग समेटिएको जानकारी पनि थापाले दिए ।

प्रतिकृया दिनुहोस