के छ कार्यदलका पाँच सदस्यले बुझाएको लिखित प्रतिवेदनमा ?

Nekapa sachibalaya

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले १ सय ४७ सदस्यीय पोलिटब्यूरो गठन गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदलका पाँच सदस्यले बुझाएको लिखित प्रतिवेदनमा १ सय ४७ सदस्यीय पोलिटब्यूरो गठन गर्ने प्रस्ताव पेश गरेको हो ।

नेकपाको सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदलका पाँच सदस्यले लिखित प्रतिवेदनमा केन्द्रीय कमिटीको अनुपातमा पूर्व एमालेबाट ८१ र पूर्व माओवादीबाट ६६ सदस्य प्रस्ताव गरिएको छ ।

प्रतिवेदनमा सांगठनिक एकीकरणको मापदण्डसमेत सिफारिस गरिएको छ । कार्यदल भंग गर्ने सचिवालयको निर्णयलाई चुनौती दिँदै पाँच नेताले लिखित प्रतिवेदन बुझाएका हुन् ।

सांगठनिक एकता टुंगो लगाउन स्थायी कमिटीले रामबहादुर थापाको नेतृत्वमा ९ सदस्यीय कार्यदल बनाएको थियो । तर, कार्यदलका सदस्यहरुबीचको विवादका कारण त्यसले ठोस प्रतिवेदन तयार पार्न सकेको थिएन ।

कार्यदलले काम गर्न नसकेको निष्कर्ष निकाल्दै नेकपा सचिवालय बैठकले कार्यदल नै भंग गर्ने निर्णय गरेको थियो । तर कार्यदलका सदस्यहरु सुरेन्द्र पाण्डे, वर्षमान पुन, वेदुराम भुसाल, योगेश भट्टराई र लेखराज भट्टले सचिवालयको निर्णयलाई चुनौती दिँदै लिखित प्रतिवेदन बुझाएका हुन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाइएको प्रतिवेदन स्थायी कमिटी सदस्यहरुलाई बोधार्थ दिइएको छ ।

यो कार्यदललाई शुरुमा १५ दिनको समय दिइएको थियो । त्यसको दुई महिनासम्म पनि केही काम नगरी कार्यदल भंग भएको दुई दिनपछि असन्तुष्ट समूहले पार्टी एकताको खाकासहित छुट्टै प्रतिवेदन बुझाएको हो ।

दुवै अध्यक्षलाई बुझाइएको कार्यदलमा प्रदेश कमिटी गठनमा सहमती हुन नसकेको लेखिएको छ । पाँच भाइहरूले बुझाएको कार्यदलमा भनिएको छ, ‘सचिवालयबाट गठित प्रदेश कमिटीहरूमा मापदण्ड नपुगेका र पार्टीको संगठित सदस्य नै नभएका व्यक्तिहरू समेत परेको तर सचिवालयबाटै निर्धारित निवर्तमान प्रदेश कमिटीका सदस्यहरूलाई राख्ने भन्ने मापदण्ड अनुसारका व्यक्ति भने नपरेको देखिएकाले मापदण्ड नपुगेका व्यक्तिलाई हटाएर मापदण्ड अनुसारका व्यक्ति राखौं भन्ने कुरामा मतभेद उत्पन्न भयो ।’ 

प्रतिवेदन तयार हुन नसक्नुमा थापा र पौडेललाई दोष दिँदै लेखिएको छ, ‘स्थायी कमिटीको निर्देश र अध्यक्ष कमरेडहरूबाट प्राप्त निर्देशनअनुरूप कार्यदलले गर्नुपर्ने सम्पूर्ण काम छिटोभन्दा छिटो सम्पन्न गर्न चाहान्थ्यौं, जसका आधारमा पार्टीको सांगठनिक एकीकरण कार्य पूराहुन सक्तथ्यो । तर कार्यदलमा रहनुभएका सचिवालयका दुईजना कमरेडहरूले कार्यदलमा घनिभूत ढङ्गले छलफल चलाएर समस्याको समधान खोज्न नै चाहनुभएन । विषयलाई टार्ने कोशिश गरियो। कार्यदलबाट निष्कर्ष निकाल्न गम्भीरतापूर्वक पहल नै गरिएन, जसले गर्दा सिङ्गो कार्यदलबाट प्रतिवेदन तयार गरी प्रस्तुत गर्न सकिने वातावरण नै बनेन ।’

सो प्रतिवेदनमा ‘कार्यदलका बहुमत सदस्यहरूबाट आजसम्म भएका कामको प्रतिवेदन दिई बाँकी काम गर्नका निम्ति समय माग गरौं र पर्याप्त समय दिएर छलफल गरी पूर्ण प्रतिवेदन तयार गरौं भन्ने कुरामा समेत कार्यदलका संयोजक क.रामबहादुर थापा र सदस्य क. विष्णुप्रसाद पौडेल सहमत नहुनु भएबाट स्पष्ट हुन्छ की उहाँहरू दुई जनाको अनिच्छाले गर्दा नै कार्यदलबाट निर्धारित सबै काम हुन नसकेको हो’ भनिएको छ ।

प्रतिकृया दिनुहोस