संसदमा हंगामा, नाराबाजीका बीचमै दुई वटा विधेयक पेस

Samsad hangama

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि प्रमुख प्रतिपक्ष दलले प्रश्न सोध्न नपाएपछि संसदमा हंगामा मच्चिएको छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संघीय संसदको ‘प्रतिनिधिसभा नियमावली’को २१९ अन्तर्गत प्रश्न सोध्न दिनुपर्ने विषयमा विवाद भएपछि होहल्ला भएको छ । होहल्लकाकै बीचमा सभामुख कृष्णबहादुर महराले संसदमा दुई विधेयक पेस गर्न अनुमति दिएका थिए ।

संसद नियमावलीको परिच्छेद ८ र ९ अनुसार प्रश्न–उत्तर कार्यक्रम होइन भन्दै सभामुखले सांसदहरुलाई बस्न आग्रह गरेपछि विवाद सुरु भएको थियो । प्रधानमन्त्रीले सरकारको काम र कर्तव्यको विषयमा जानकारीमुलक विषयमा आफ्नो सम्वोधन गरेको भन्दै महराले प्रश्न गर्न नसक्ने बताएका थिए ।

सभामुखले ‘प्रश्न–उत्तर कार्यक्रम छ । पछि राखौंला’ भने, तर नियमावलीको व्यवस्था मिच्न नपाउने भन्दै कांग्रेस सांसदहरुले नाराबाजी गरिरहे । ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाइने भन्ने हुँदैन’ भन्दै प्रतिवादी कांग्रेस सांसदहरुले ‘प्रश्न राख्न नदिनुले संसदको अपमान भएको’ समेत आरोप लगाएका थिए ।

प्रश्न–उत्तरको प्रक्रिया अलग्गै भएकोले यसमा अवरोध नर्गन सभामुख महराले आग्रह गरेपनि कांग्रेस सांसदहरुले बस्न मानेनन् । प्रधानमन्त्रीले समयसामायिक विषयमा उठेका प्रश्नहरुमा जवाफ दिए लगत्तै नेपाली कांग्रेसका नेताहरुले उठेर प्रश्न उत्तरका लागि समय मागेका थिए । कांग्रेससँगै स्वतन्त्र सांसद प्रेम सुवाल र राजपाकी सांसद सरिता गिरीसमेत उठकी थिइन् ।

सभामुख महराले विपक्षीले उठेर गरेको अवरोधलाई पेलेर शून्य र विशेष समय हटाएको सूचना सुनाए । लगत्तै उनले अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाललाई निवृत्तिभरण कोषसम्बन्धी तथा भुक्तानी तथा फछ्र्यौट सम्बन्धमा बनेको विधेयक दफावार छलफलका लागि संसदमा पेस गर्न समय दिएका थिए ।

सभामुखले आफूहरुको अवरोध नसुनेपछि कांग्रेस सांसदहरुले रोस्टम घेरेका थिए । तर, सभामुख महराले त्यसको पर्वाह नगर्दै विधेयक पेस गर्न अनुमति दिएका थिए ।

कांग्रेस सांसदहरुको नाराबाजीका बीचमै संसदमा दुई वटा विधेयक पेस भएका थिए । लगत्तै सभामुख महराले बैठक १५ मिनेटका लागि स्थगित भएको सूचना जारी गरेका थिए ।

प्रतिकृया दिनुहोस