कोष्टारिकाबाट प्रधानमन्त्री ओलीको सन्देश, ज्येष्ठ नागरिक अनुभवका खानी हुन्’

Kp oli  rn raut

काठमाडौं । २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकहरुप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

ज्येष्ठ नागरिकहरु अनुभवका खानी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनका विभिन्न उकाली–ओराली पार गर्दैै असीम ज्ञान, सीप र अनुभव संगालेका देशका आदरणीय बुबा–आमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य हुन नसक्ने उल्लेख गरेका छन् । ‘ज्येष्ठ नागरिकका अनुभव देश निर्माणका लागि महत्वपूर्ण हुन्छ । त्यसैले एक पटक फेरि म ज्येष्ठ नागरिकको हक, हित संरक्षण र सम्बर्द्धनका लागि सरकारको प्रतिवध्दता दोहोर्‍याउन चाहान्छु ।’

संयुक्त राष्ट्र संघको आव्हानमा यस वर्ष ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौं भन्ने मूल नाराका साथ असोज १५ गते सोमबार जेष्ठ नागरिक दिवस मनाईंदैछ । यस अवसरमा नेपाल सरकार, महिला-बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले संयुक्त रुपमा विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गर्दैछन् ।

नेपालमा स्वास्थ्य सेवामा बढ्दो पहुँच, आर्थिक स्तरमा भएको प्रगति, खाद्यान्नको पर्ययाप्ततालगायतका कारण व्यक्तिको औषत आयु बढीरहेको छ । ‘यसले गर्दा समाजमा आउँदा दिनमा ज्येष्ठ नागरिकहरुको जनसंख्यामा वृध्दिहुँदै जानेछ । तर बदलिएको परिवारिक संरचना तथा व्यक्तिको जीवन शैली र रोजगारीका लागि युवाहरुको विदेशिने क्रमका कारण घर-घरमा ज्येष्ठ नागरिकहरु एक्लिएका छन्,’ प्रधानमन्त्री भने, ‘कतिपय अवस्थामा ज्येष्ठ नागरिकहरुले आफन्तबाटै अपहेलित र उपेक्षित भएर जीवन बिताउनु परेको छ । सरकार ज्येष्ठ नागरिकका यस्ता समस्याप्रति गम्भीर छ ।’

ज्येष्ठ नागरिकको दैनिकीलाई सहज बनाउन ज्येष्ठ नागरिक भत्ताका अतिरिक्त सरकारले यसै आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक विमा कार्यक्रम पनि सञ्चालन गरेको प्रधानमन्त्री उल्लेख गरेको छ । प्रधानमन्त्रीले बाबुआमाबाट सन्तानले अंश दावी गर्ने तर बृद्ध अवस्थामा बाबुआमाको उपेक्षा गर्ने प्रवृत्तिको अन्त्य गर्न सरकार कटिवध्द भएको बताए । ‘त्यसैले छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानुनी व्यवस्था गरिने भएको छ ।

यससम्बन्धी कानुनी प्रावधानको व्यवस्था गर्न ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा आवश्यक संशोधन गर्ने प्रकृया अघि बढिसकेको छ,’ ‘ज्येष्ठ नागरिकको उचित र सम्मानित व्यवस्थापन वृद्धाश्रम निर्माण गरेर होइन, सन्तानले नै बृद्ध बाबुआमाको रेखदेख गर्नु पर्दछ भन्ने हाम्रो सामाजिक मान्यताको प्रवर्द्धन गरेर मात्र सम्भव छ ।’

प्रधानमन्त्रीले वृद्ध बाबुआमाको रेखदेख पारिवारिक वातावरणमा हुन सकेको खण्डमा फरक पुस्ताबीचको अन्तरक्रिया बढ्ने उल्लेख गरेका छन् । ‘अग्रजका अनुभवबाट छोरा-नाति पुस्ताले पनि शिक्षा ग्रहण गर्न सक्दछन् । त्यसैले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक हुन् भन्ने कुरा हामीले कहिल्यै भूल्नु हुँदैन,’ प्रधानमन्त्री भनेका छन् ।

प्रतिकृया दिनुहोस