तेह्र दिनका लागि अमेरिका उढे ओली

Oli america pasthan

काठमाडौं । राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका उडेका छन् ।

संयुक्त राष्ट्रसंघको महासभा मंगलबारबाट सुरु संयुक्त राष्ट्रसंघको ७३औं महासभामा सहभागी हुन प्रधानमन्त्री ओली शनिबार अमेरिका तर्फलागेका छन् । उनी त्यहाँबाटै मध्य अमेरिकी मुलुक कोष्टारिक जाने छन् ।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव, परराष्ट्रका सहसचिव, झापाका मेयर, सुरक्षा गार्ड, चिकित्सक, सरकारी सञ्चारकर्मी, सहयोगीसहित २१ सदस्यी टोली छन् ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभामा बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । सम्बोधन गर्नुअघि उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । ‘राष्ट्रसंघलाई सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मुख्य विषय रहेको सम्मेलनमा उनले नेपालको पछिल्लो राजनीतिक अवस्थासहित सरकारले गर्दै आएका कार्य र अन्तर्राष्ट्रिय प्रतिवद्धताबारेमा प्रकाश पार्नेछन् ।

ओलीले ‘नेल्सन मण्डेला शान्ति शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ । मण्डेलाको सम्मानमा जन्म शताब्दी मनाउन राष्ट्रसंघले यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो । प्रधानमन्त्री ओली सोही दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने कार्यक्रम छ । सोही बेला उनले ट्रम्पसँग एकदेखि दुई मिनेट संक्षिप्त कुराकानी गर्न पाउने छन् । ट्रम्पको सम्मान समारोहको भोलिपल्ट ओली उच्चस्तरीय सम्बोधनमा सहभागी हुनेछन् ।

सम्बोधनपछि ओली नेपाली समुदायसँगको भेटघाटसहित साइडलाइन भेटमा सक्रिय बन्नेछन् । बिहीबार सम्बोधन गरेपछि ओली शुक्रबार कोस्टारिका जाने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस