मेलम्ची आयोजना समयमै सक्न विकास समितिको निर्देशन

Melamchi1

काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न सरकारालाई निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदबारमा बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो।

खानेपानी मन्त्री विना मगरलाई बैठकमा बोलाएर समितिले मेलम्ची खानेपानी आयोजनाको काममा ढिलाई गर्ने निकायलाई कडा कार्वाही गर्न पनि सरकारलाई सचेत गराएको छ। निर्धारित समय भित्रै मेलम्ची खानेपानी आयोजनाको काम सकाउन सरकारलाई निर्देशन दिइएको समितिका जेष्ठ सदस्य जीपछिरिङ लामाले जानकारी दिए।

समितिले शुद्ध पीउने पानीको व्यवस्था गर्न ढिलाई नगर्न पनि सरकारलाई सचेत गराएको छ। बैठकमा खानेपानी मन्त्री विना मगरले तोकिएकै मितिमा मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न गर्न प्राविधिक जटिलता रहेको बताइन्।

उनले मेलम्ची खानेपानीको कामलाई सरकारले इमान्दारिताका साथ तोकिएकै समयमा सम्पन्न गर्ने कोसिस गरेपनि विगतमा गरिएको कतिपय सम्झौताले अप्ठयारोमा पारिरहेको पनि समितिलाई जानकारी दिइन्।

मन्त्री मगरले सन् २०३० भित्र सबै नागरिकलाई शुद्ध खानेपानीको व्यवस्था गर्न बजेटको अभाव रहेको पनि समिति समक्ष स्पष्टिकरण दिएकी छन्। सरकारले चालू आर्थिक वर्षका लागि ३४ अरव बजेट खानेपानी मन्त्रालयका लागि विनियोजन गरेको छ।

मन्त्री मगरले वार्षिक १ खरव बजेटको व्यवस्था गरे मात्रै सन् २०३० भित्र सबै नागरिकलाई शुद्ध पीउने पानीको व्यवस्था गर्न सकिने मन्त्रालयको अध्ययनले देखाएको पनि स्पष्ट पारिन्।

प्रतिकृया दिनुहोस