देउवालाई ओलीको जवाफ, कहाँ अण्डामा कर लगाएको छ र ? अण्डा ब्यापारीलाई हो

Kp sharma oli

काठमाडौं । करका विषयमा भइरहेको विरोधमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले केही ठाउँमा नयाँ अभ्यासका क्रममा त्रुटी भएको भए पनि बाहिर हल्ला गरिए जस्तो नभएको बताएका छन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार सदनमा सम्बोधन गर्दै ओलीको जवाफ मागेका थिए । देउवाले उठाएका विषय लगायत संसद बाहिर हुने गरेका आलोचनाका विषयमा आलीले जवाफ दिएका छन् ।

‘साइकलमा कर लगाइएको होइन, साइकल पसलमा लगाइएको हो । अण्डामा कर लगाइएको होइन, अण्डा ब्यापार गर्नेलाई कर लगाइएको हो’ ओलीले भने, ‘भैंसीमा कर लगाइएको होइन, भैंसी, दूध, चीज बेच्दा कर लगाइएको हो ।’

शिक्षा, स्वास्थ्यका विषयमा निशुल्कको कुरा पनि गर्ने तर कर उठाउँदै गर्दा विरोध गरिहाल्ने गलत भएको उनले बताए । ओलीले कतिपय स्थानीय सरकारले बढी कर उठाएको गुनासो आएकाले त्यसको हल गर्ने प्रयास भइरहेको पनि बताए ।

उनले भदौं १ मा जारी भएका मुलुकी संहिताहरुको विषयमा भएको विरोध पनि नसुहाउँदो बताए । ‘चलन चल्तीको आरोपको भाषामा भन्ने हो भने दुई तिहाईको दम्भ भन्ने गरिएको छ । यो त गत वर्ष भदौमा यसै सदनबनाट पास भएको हो,’ उनले भने, ‘कहिले कहिले साथीहरुले आफ्नो नेतृत्वमा संहिता जारी भएकोमा गर्व गरेर वक्तब्य जारी गरेको देख्छु, फेरि त्रुटीपूर्ण छ पनि भन्छन् ।’

प्रधानमन्त्री ओलीले नन इस्युमा संसद अबरुद्ध भएको भन्दै चिन्तासमेत व्यक्त गरे । ‘कानुन निर्माणमा ढिलाई भयो भनेर विरोध गरिएको छ । आरोप अलिकति मिलेन कि ?,’ उनले भने, ‘मौलिक हक कार्यान्वयन गर्ने १७ विधेयकले संसदको निर्णय कुरिरहेका छन् । अरु ३३ वटा विधेयक पनि मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । आवश्यक विधेयकको मस्यौदाको काम जारी छ । संसदलाई प्रभावकारी र कामकाजी हुन दिनुहोस् ।’

प्रतिकृया दिनुहोस