१३ प्रजातिका जडीबुटी निकासी

Jadibuti

बाजुरा । हिमाली भेगमा रहेका विभिन्न प्रजातिका जडीबुटी संकलन गरी निकासी पैठारी गर्न थालिएको छ ।

हिमाली क्षेत्रमा पाइने सुगन्धवाल, पाषणभेद, च्याउ, चिराइतोलगायतका प्रजातिका जडीबुटी संकलनका लागि ठेकेदारलाई अनुमति दिएर जडीबुटी पैठारी गर्न लागेको जिल्ला वन कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७४/७५ मा हरेक मौसममा फरकफरक प्रजातिका जडीबुटी संकलन गर्न अनुमति लिइ निकासी समेत भइसकेको निमित्त जिल्ला वन अधिकृत मनकुमार छन्त्यालले जानकारी दिए । हिमाली गाउँपालिकाको बिच्छ्या र रुगिन तथा गौमुल गाउँपालिकाकोे दहकोटलगायत क्षेत्रबाट जडीबुटी संकलन गर्ने गरिएको छ ।

मंसिरसम्म १३ प्रजातिका जडीबुटी संकलन भई निकासी भइसकको छ । एउटा जातको जडीबुटी छदेखि आठजना ठेकेदारले संकलन तथा निकासीको अनुमति लिने गरेका छन् । सेतक चिनी एक हजार १९ क्विन्टल, साधारण च्याउ ३० क्विन्टल र टिमुर २१ क्विन्टल संकलन गरी नेपालगञ्ज पठाइएको छ ।

यसैगरी, चिराइतो १२ क्विन्टल ५० किलो, काँकडसिंगी ८ सय किलो, सुगन्धवाल ५ सय किलो, पदमचाल ५ सय किलो, कटुकी ४ सय किलो, सुनाखरी सुनगाभा १ सय किलो तथा सफेज दुई हजार ७ सय किलो संकलन तथा निकासी गरिएको छ ।

जिल्ला वन कार्यालयले काला दाना ४ सय किलो, लोक्ता ५० क्विन्टल र अल्लो एक हजार किलो निकासी गरेको छ । सामुदायिक वन र राष्ट्रिय वनबाट उक्त प्रजातिका जडीबुटी संकलन गर्न पाउने प्रावधान छ ।

राष्ट्रिय वनबाट संकलन गरिएका जडीबुटीको प्रतिकिलो १० प्रतिशत र सामुदायिक वनलाई प्रतिकिलो ७५ पैसाका दरले राजश्व तिर्नुपर्ने प्रावधान रहेको निमित्त वन अधिकृत छन्त्यालले बताए ।

प्रतिकृया दिनुहोस