लोपोन्मुख धानको बीउ बैंकमा संरक्षण

Dhan 1

कञ्चनपुर । लालझाडी गाउँपालिकामा रहेकोे एक सामुदायिक बीउ विकास बैंकले अहिलेसम्म स्थानीय लोपोन्मुख २२ प्रजातिका धानको बीउ संरक्षण गरेको छ । एक दशकदेखि बैंकले लोपोन्मुख अवस्थाका स्थानीय धानका प्रजातिको खोजी गरी उक्त बैंकले बीउ संरक्षण गर्दै आएको हो ।

छिटो पाक्नेमा अन्जना, सिमटारी, निमै, दुलहनिया, थापाचिनी, मुटरमुर, मजरगौला, ध्युपुरी, सेतो साटा, वगटी, काला साटा, चैनी, अन्ती, तिलकीलगायत १५ जातका धान संरक्षण गरिएका छन् । ढिलो पाक्नेमा श्यामजीरा, राईमुनुवा, कनकधिरा, कृष्णा, राजभोग, रतुवा र बाउन्न चिनी लगायतका धान संरक्षण गरिएका छन् ।

प्रतिवर्ष स्थानीय जातका धान खेती गरेर यहाँका सहकारीमा आबद्ध किसानले संरक्षणमा टेवा पु¥याउँदै आएका छन् । ‘स्थानीय जातका धानका बीउको विशेषताबारे स्थानीय कृषकलाई जानकारी दिइ खेतमा लगाउनका लागि उत्प्रेरण दिँदै आएका छौँ’ अध्यक्ष रानाले भने, ‘कृषकले स्थानीय जातका धानको महत्व बुझेर हाल विगतमा छोड्दै गएका धानको खेती गर्न थालेका छन् ।’

स्थानीय जातको धान रोग कीरा प्रतिरोधी, सुक्खा सहनसक्ने र डुबान भएमा समेत थोरै मात्रै नोक्सानी हुने भएकाले सहकारीमा आबद्ध किसानले एकै ठाउँमा देखिने गरी नमूनाका रुपमा घरमै तयार गराएको मल प्रयोग गरी लोपोन्मुख अवस्थामा पुगेका धानको संरक्षणमा टेवा पु¥याउँदै आएका हुन् । धेरै टाढाबाट समेत स्थानीय जातका धानको बीउको खोजी गर्न किसान यहाँ आउने गरेकाले सहकारीले लागत खर्च कटाएर सहुलियतमा धानको बीउ उपलब्ध गराउँदै आएको छ ।

बीउ संरक्षणको कार्य हुँदै आएकाले लोप हुँदै गएका प्रजातिको संरक्षणमा टेवा पुगेको स्थानीय किसान रामप्यारा चौधरीले बताए । यस वर्ष स्थानीय जातको धानको बीउ २० क्विन्टल बढी उत्पादन भएको छ । बजार मूल्यभन्दा १० देखि १५ सस्तोमा धानको बीउ बिक्री हुँदै आएको छ ।

स्थानीय धानको बीउ मात्रै बिक्री गर्दैनौँ सहकारीका पदाधिकारी आशाराम चौधरीले भने, ‘स्थानीय जातका धानमा विकासे धान क्रसिङ गरेर नयाँ धानका प्रजातिको विकासमा समेत लागेका छौँ ।’ सुक्खा सहनसक्ने र कम मलमै बढी प्रतिफल दिने धानका प्रजातिको विकासमा लागेको उनले बताए । स्थानीय जातका धानको खेती गर्न र भण्डारण गर्न निकै चुनौती रहेको सहकारीमा आबद्ध सदस्यको भनाइ छ ।

संस्थाले बीउ भण्डारणका लागि दुईतले पक्की भण्डारण गृहसमेत निर्माण गरेकामा बीउको उत्पादनभन्दा भण्डारण गृहको क्षमता कम भएकाले बीउ राख्न समस्या छ । भण्डारण गृह ५० क्विन्टल क्षमताको छ ।

बीउलाई कीरा र ढुसीबाट जोगाउन जैविक विषादीको प्रयोग गरी टिनको भकारीमा भण्डारण गरिँदै आएको छ । ‘बीउको माग बढी भए पनि भण्डार गृहको क्षमता कम भएकाले किसानको मागअनुरुप बीउ उपलब्ध गराउनसक्ने अवस्था छैन’ सहकारीका अध्यक्ष रानाले भने ।

शंकरपुर, देखतभूली, बेलौरी नगरपालिका, रामपुर विलासिपुर र कृष्णपुर क्षेत्रका एक हजार बढी किसानले बीउ बैंकबाट बीउ खरिद गरेर खेतमा लगाउने गरेका छन् । गाउँबाटै किसानले बीउ पाउने भएकाले समयको बचत, पैसाको बचत हुने गरेको बैंकका सचिव आशाराम चौधरीले बताए ।

स्थानीय जातका धानका बीउसँगै बैंकले किसानलाई उन्नत जातका राधा चार, सावित्री, हर्दिनाथ लगायतका धानको बीउ र बढी फल्ने गौतम, आदित्य र भृकुटी जातका गहुँको बीउसमेत बैंकबाट किसानलाई उपलब्ध गराईदै आएको छ ।

उन्नत जातका धानको बीउ मात्रै यस वर्ष बैंकमा आबद्ध किसानले ६० क्विन्टल बढी उत्पादन गरेका छन् । गत बर्ष ५० क्विन्टल गहुँको बीउ बैंकमा आबद्ध किसानले उत्पादन गरेकामा लालझाडी गाउँपालिकाले त्यो बीउ खरिद गरी अनुदानमा किसानलाई उपलब्ध गराएको थियो ।

सहकारीले सञ्चालन गर्दै आएको बीउ बैंकले स्थानीय जातका धानका बीउसँगै उन्नत जातका धान, गहुँको गुणस्तरीय बीउ उत्पादन गरी सघाउ पु¥याउँदै आएकाले सो बीउ बैंकलाई आइपरेको समस्या समाधानका लागि कार्य अगाडि बढाइने लालझाडी गाउँपालिकाका प्रमुख मदनसेन वडायकले बताए ।

बीउ बैंकका लागि उत्पादनअनुरुपको भण्डारण गृह, कृषि औजार, बीउ भण्डारण सामग्री र कर्मचारीको तलबको व्यवस्था उक्त सहकारीले व्यहोर्दै आएको छ । गैरसहकारी संस्थाको सहयोगमा विसं २०६४ मा स्थापना गरिएको बीउ बैंक जिल्ला कृषि विकास कार्यालय र दातृ निकायको सहयोगमा सञ्चालन हुँदै आएको थियो । सहकारी गठनपछि सबै निकायले सहयोग उपलब्ध गराउन बन्द गरेपछि बैंक सञ्चालन गर्न अप्ठ्यारो परेको छ ।

प्रतिकृया दिनुहोस