कुनकुन दलले बुझाए समानुपातिक सदस्यको सुची ?

Nirwachan aayog

काठमाडौं । प्रत्यक्षतर्फ ५ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाए पनि समानुपातिकमा भने १३ दलले समानुपातिक सदस्य पाएका छन् ।

निर्वाचन आयोगले शुक्रबारसम्म नाम पेश गर्न आग्रह गरेपछि १३ राजनीतिक दलहरुले प्रदेशसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश भएका नाममध्ये आफुले पाएको सीटका आधारमा उम्मेदवारहरुको नाम बुझाएका हुन् ।

राजनीतिक दलले यसअघि बन्दसूचीमा पेस गरेको क्रमसंख्या र विभिन्न समावेशी समूहअनुसार निर्वा्चित गर्नुपर्ने उम्मेदवारको नाम बुझाएका हुन् । आयोगले समानुपातिक समावेशी सिद्धान्तका आधारमा समानुपातिकतर्फको प्रदेशसभा सदस्यको छनोट गरेर पठाउन एकसाता अघि शुक्रबारसम्मको समयसीमा प्रदान गरेको थियो ।

प्रदेशसभामा समानुपातिकतर्फ नेकपा एमाले ७५, नेपाली कांग्रेस ७२, नेकपा माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम नेपाल १३, राष्ट्रिय जनता पार्टीे नेपाल १२, राप्रपा र विवेकशील साझा पार्टी तीन÷तीन, राष्ट्रिय जनमोर्चा २ तथा नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले एक÷एक सीट प्राप्त गरेका छन् ।

समानुपातिक तर्फ प्रदेश नं १ मा ३७, प्रदेश नं २ मा ४३, प्रदेश नं ३ मा ४४, प्रदेश नं ४ मा २४, प्रदेश नं ५ मा ३५, प्रदेश नं ६ मा १६ र प्रदेश नं ७ मा २१ गरी कुल २२० कायम गरिएको छ ।

प्रदेशसभा संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने संवैधानिक प्रावधानअनुसार समानुपातिकतर्फ पुरुषको तुलनामा महिलाको निर्वा्चित हुने संख्या निकै बढी हुनेछ । प्रत्यक्षतर्फ महिलाको ३३ प्रतिशतको बाँकी रहन गएको उपस्थिति पनि समानुपातिक तर्फबाटै हुनेछ ।

आयोगले दलहरुले दिएको नाममाथि शनिबार छानबिन गर्ने र समावेशी सिद्धान्तअनुसार सिफारिश नपठाउने राजनीतिक दललाई पुनः नाम सच्याउन आइतबार तीन दिनको समय प्रदान गर्ने छ ।

प्रतिकृया दिनुहोस