पूर्व राजा नेपालगञ्ज पुग्दा लाग्यो यस्तो नारा

Purba raja

नेपालगन्ज । पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार नेपालगञ्जमा खुलेको सोल्टी होटलको उद्घाटन गर्न पुगे । उनी विमानस्थलमा ओर्लनसाथ उनका समर्थकहरुले चर्का नाराहरु लगाए ।

शाह विमान स्थलमा पुगेपछि उनका समर्थकले ‘राजा आऊ, देश बचाऊ’ जस्ता नाराहरु लगाएका थिए । जुन रमाइला र हास्यास्पद पनि थिए । झण्डै २ हजारको हाराहारीमा भेला भएका उनका समर्थकहरुले निक्कै बेर ‘राजा आउँ देश बचाउँ’ भन्ने नारा लगाएका थिए ।

पूर्वराजा शाहको परिवारलाई स्थानीयले स्वागत गरेका थिए । पूर्व राजाको स्वागतमा मुख्यगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।

स्थानीयले भने दिउँदै पूर्व राजा आउने भनेर चासो देखाएका थिए । तर, पूर्व राजा शाह भने साँझ ५ बजे मात्र आइपुगेका थिए । शाहको स्वागतका लागि अधिवक्ता दीपक सिंहको संयोजकत्वमा २ सय एक सदस्यीय देशभक्त नागरिक स्वागत मुल समारोह समिती गठन गरिएको थियो । समितिको अगुवाइमा पूर्वराजाको पक्षमा नारा लगाएका थिए । नारा लगाउनेहरु दिउँसो ३ बजेदेखि नै विमानस्थलमा जम्मा भएका थिए ।

मध्य तथा सुदूरपश्चिमका धार्मिक एवम् पर्यटकीय क्षेत्रको भ्रमणका लागि पूर्वराजा शाह बाँकेमा आएका थिए । पूर्वराजा शाहका साथमा पत्नी कोमल राज्यलक्ष्मी शाह, युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह र छोरी प्रेरणा छन्। शाहको परिवार १ हप्तासम्म रहने कार्यक्रम छ । एक हप्ताको समयमा पूर्वराजाले मध्य तथा सुदूरपश्चिमका धार्मिक क्षेत्रको भ्रमण समेत गर्ने छन् ।

शाह परिवारले शुक्रबार बिहान वागेश्वरी माताको दर्शन गर्ने कार्य तालिका छ । पूर्वराजा आउने भएपछि बिहीबार बिहानैदेखि नेपालगन्ज विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ गरिएको थियो ।

प्रतिकृया दिनुहोस