खाद्यान्न उत्पादनमा वृद्धि

Khadhyanna1

भद्रपुर । झापामा गएको साउनदेखि कात्तिकसम्म खाद्यान्नमा न्यूनतम आवश्यकता पूरा गर्न ८० प्रतिशत घरधुरी सुरक्षित रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

खाद्यान्नमा आउँदो फागुनसम्मको अवस्था पनि यस्तै रहने कार्यालयले जनाएको छ । विगतको भन्दा अनुकूल मौसम, उन्नतम बीउ र प्रविधिको प्रयोगले खाद्यान्न उत्पादनमा ०.११ प्रतिशतले वृद्धि भएको जिल्ला खाद्यान्न सञ्जालको बैठकमा प्रस्तुत गरिएको कार्यपत्रमा उल्लेख छ ।

बाल कुपोषणको अवस्था नगण्य रहेको जिल्लामा अध्यावधिक वर्षाका कारण धानबाली र माछाको उत्पादनमा वृद्धि भएको छ । प्रमुख कृषि बजार बिर्तामोड, धुलाबारी, भद्रपुर, दमक र चन्द्रगढी रहेको जिल्लामा सुपारी र चियाबाट रु ९५ करोड तथा मासुजन्य पदार्थबाट रु ७२ करोड ९३ लाख आम्दानी भएको कृषि विकास कार्यालयका अधिकृत शालिकराम भट्टराईले जानकारी दिए ।

खानेपानीमा ८५ प्रतिशत र सुलभ शौचालयमा ७५ प्रतिशत पहुँच रहेको भएपनि खुला दिसामुक्त घोषणा हुन सकेको छैन । गएको वर्ष ८७ हजार ५ सय हेक्टर जग्गामा धानखेती गरिएको थियो भने उत्पादकत्व ४६९ प्रतिशत रहेको थियो । यस वर्ष .जग्गा प्लटिङका कारण धानखेती गरिएको क्षेत्रफल २ हजार हेक्टर घटेको छ । करिब ८५ हजार ५ सय हेक्टरमा मात्र धानखेती गरिएको थियो भने उत्पादकत्व ४।८ मेट्रिक टन प्रतिहेक्टर रहेको थियो ।

गएको वर्ष झापामा ४लाख १० हजार ३७५ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष ४ लाख १० हजार ४ सय मेट्रिक टन उत्पादन भएको छ ।

यसैगरी, यस वर्ष साउनमा आएको बाढीका कारण जिल्लाभरिमा १ अर्ब ६ करोड ८४ लाख बराबरको कृषि क्षेत्रमा क्षति भएको जिल्ला खाद्यान्न सञ्जालको बैठकमा प्रस्तुत गरिएको कार्यपत्रमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस