एकै दिन फेरियो लुम्बिनी र गण्डकी प्रदेशको सरकार, एमाले बाहिरिँदा कांग्रेसको हातमा पुग्यो चाबी

2 pradesh mukhyamantri

काठमाडौं । केन्द्रमा भएको सत्ता समिकरणको असर स्वरुप एकै दिन २ वटा प्रदेश सरकार परिवर्तन भएको छ । बिहीबार गण्डकी र लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनले सरकार बनाएका छन् भने एमाले सत्ताबाट बाहिरिएको छ ।

प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । १२ वैशाखमा तीन दिनको समय दिएर प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । सोहीबमोजिम बिहीबार पाण्डेले कांग्रेससहित माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) को समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्छ । संसदमा सवैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७ सीट छ ।

जिल्लामा बस्ने र संगठन बनाउनेमा मिहिनेत नगरेको आरोप खेप्दै आएका सुरेन्द्रले पार्टी सभापति देउवा दाहिना हुँदा राजनीतिक छलाङ मारेको गोरखाका कांग्रेसीजन बताउँछन् ।

विद्यार्थी आन्दोलनबाट राजनीति थालेका पाण्डे २०४५ सालमा त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापति बनेका थिए । २०४९ मा नेविसंघको केन्द्रीय सदस्य भएका पाण्डे २०५९ मा नेपाल तरुण दलको महामन्त्री बने । २०७४ देखि दुई वर्ष राष्ट्रिय सभा सदस्य रहेका उनी कांग्रेस संसदीय दलको नेता समेत भएका थिए । प्रदेशमा झरेपछि पहिलो पटक जनताबाट प्रत्यक्ष चुनिने अवसर पाए ।

१३ पुसमा भएको संसदीय दलको चुनावमा शेखर कोइराला–गगन थापा समूहबाट उम्मेदवार बनेका स्याङ्जाका भोजराज अर्याललाई हराउँदै दल नेता चुनिए । करिब ४ महिना प्रतिपक्ष दलको नेता बनेका पाण्डेले शिष्ट राजनीतिक संस्कार देखाएका थिए । अहिले प्रचण्डले राजनीतिक बल पास गरिदिएपछि मुख्यमन्त्री बनेका पाण्डेसामू कांग्रेसका मन्त्रीका आकांक्षीहरुको व्यवस्थापनदेखि माओवादी केन्द्रसँग समन्वय गरेर कसरी कसरी काम गर्छन्, त्यो हेर्न बाँकी छ ।

यता, सत्ता समीकरणमा भएको फेरबदलको लाभ लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरीले पाएका छन् । विश्वासको मत नपाएर एमालेका लिला गिरी नेतृत्वको सरकारले ढलेसँगै डिल्ली चौधरी लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री बनेका छन् ।

बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरे । प्रदेशसभाको अघिल्लो कार्यकालमा मन्त्री बनेका उनी यसपटक मुख्यमन्त्री बन्ने अवसर पाए ।

चौधरी भने सामाजिक आन्दोलन पृष्ठभूमिबाट आएका व्यक्ति हुन् । उनी थारु कमैया, कमलहरीहरुमा शैक्षिक जागरणको अभियान सुरु गर्ने राजनीतिकर्मी हुन् । निम्न वर्गीय परिवारमा जन्मिएका चौधरीका बाबु टुकलाल चौधरी जिल्ला पञ्चायत सदस्य र गाउँ पञ्चायतको उपप्रधानपञ्चसम्म भएका थिए । 

प्रतिकृया दिनुहोस