आज ४ बजे सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिइने

3 leadre baluwatar

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न आज अपरान्ह ४ बजे गठबन्धनको बैठक बोलाउने शीर्षनेताहरुबीच सहमति भएको छ ।

सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको थियो । सोही सहमति अनुसार आज ४ बजे सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।

चैत ६ गते संसदबाट दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले एक साता बित्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । लामो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा सरकारको आलोचना हुँदै आएको छ ।

गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ । दलहरुबीच मन्त्रालय भागबन्डाको कुरा नमिल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । शीर्ष तीन नेताको भेटमा आज अपराह्न ४ बजे गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

मन्त्रिपरिषद् विस्तार गरिने भनिए पनि दलहरुबीच सहमति हुन सकेको छैन । कांग्रेसले अर्थसहित आठ मन्त्रालयमा दाबी गर्दै आएको छ भने एकीकृत समाजवादीले कम्तिमा तीन मन्त्रालय पाउनुपर्ने अडान लिँदै आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित साविकै मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने सर्त अगाडि सारेको छ ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत १० दल आबद्ध छन् ।

प्रतिकृया दिनुहोस