प्रधानमन्त्री ‘प्रचण्ड’ र सभामुख घिमिरेबीच भेटवार्ता, विधेयकलाई छिटो पारित गर्ने विषयमा छलफल

Prachanda and devraj ghimire

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न सभामुख घिमिरे बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनका कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सभामुखको तजबिजी अधिकार कटौती गर्ने सत्ता गठबन्धनको तयारीका विषयमा सभामुख घिमिरेले चासो राखेको र त्यसैमा छलफल केन्द्रित भएको थियो । ६ चैतमा प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को मस्यौदा प्रतिवेदन पेश भएको थियो । त्यसमा १५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । जसमा ‘विगतमा सभामुखले प्रयोग गर्दै आएका तजबिजी अधिकार कटौती गर्ने’ संशोधन प्रस्ताव सत्तारुढ दलहरुका सांसदहरुबाट परेको छ ।

सत्तारुढ दलहरु कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार सदन सन्चालन हुनुपर्नेमा अडिग छन् । सभामुखको तजबिजी अधिकार कटौती हुने गरी संशोधन प्रस्ताव परेपछि सभामुख घिमिरेले विभिन्न दलका नेताहरुसँग परामर्श गर्दै आएका छन् । प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई छिटो पारित गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस