‘स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस्’

प्रधानन्त्री भन्छन्, ‘सगरमाथा त्यहीं हुन्छ, अर्को पटक गएर नापेर आए हुन्छ’

Mt everest mapan team

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम र स्वास्थ्यलाई भने ख्याल गरेर मात्र सगरमाथाको उचाई नाप्न सुझाव दिएका छन् ।सगरमाथाको उचाई नाप्न जान लागेको कर्मचारीको टोलीलाई बिदाइ गर्दै प्रधानमन्त्री ओलीले लक्ष्यमा अडिग रहन आग्रह पनि गरे ।

स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस्’ ओलीले भने, ‘सगरमाथा त्यहीं हुन्छ । अर्को पटक गएर नापेर आए हुन्छ । गाइडको निर्देशन पालना गर्नुहोला ।’

चीनले गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा सगरमाथाको उचाई घटेर ८ हजार ८ सय ४४ मिटर पुगेको भन्ने तथ्य बाहिर आएको थियो । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई पहिलो पटक सन् १८४९ मा भारतले मापन गरेको थियो । त्यसपछि सन् १९५४ र सन् २००५ मा सगरमाथाको उचाई मापन गरिए पनि नेपालले भने पहिलो पटक त्यसको उचाई मापनका लागि सरकारी टोलीलाई पठाएको हो ।

२०७२ साल बैशाख १२ मा गएको विनाशकारी भूकम्पले सगरमाथाको उचाई घटाएको विभिन्न अड्कालबाजी भइरहेका बेला सरकारले त्यसको तथ्यबोध गराउन मापनका लागि आफ्नै कर्मचारी परिचालन गरेको हो ।

प्रधानमन्त्री ओलीले सगरमाथाको उचाई नाप्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका ४ जना कर्मचारीको टोलीको बुधबार बिदाइ गरे । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन् । गाइड टोलीमा छिरिङ जाङ्बु शेर्पा र पेमाङिमा शेर्पा छन् ।

टोलीले करिब एक महिनामा सगरमाथाको उचाई नापेर फर्कने योजना बनाएको छ । प्रधानमन्त्री ओलीले भूकम्पले सगरमाथाको उचाई घटेको भन्ने भनाई आफूलाई भरपर्दो नलागेको धारणा राखे । प्रधानमनत्री ओलीले नेपालको टोलीले नापेको उचाई नै आधिकारकि हुने दावी गरे ।

‘नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाई मापन हुँदैछ । तपाईंहरुले सेन्टिमिटरसहितको उचाई नापेर ल्याउनु होला’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाई हुनेछ ।’

 

प्रतिकृया दिनुहोस