बिस्केट जात्रा आजदेखि: नयाँ वर्षको अवसरमा नौ दिनसम्म तान्त्रिक विधिअनुसार मनाइने

हजार प्रहरी परिचालन

Bisketjatra

काठमाडौं ।  भक्तपुरमा नयाँ वर्षको अवसरमा नौ दिनसम्म तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज सुरु हुँदैछ ।

साँझ तौमढी दरबार परिसरमा निर्माण गरिएको भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु हुन्छ । जात्राका लागि सल्लाघारी जंगलबाट गोलाई काठ ल्याएर दुईवटा ५५ हाते लिंगो तयार पारिएको गुठी संस्थानका प्रमुख हरि सुवेदीले बताए । 

रथ तान्ने र लिंगो उठाउने जात्राका मुख्य आकर्षण हुन् । जात्राको पहिलो दिन मंगलबार रथमा खड्ग, तरबार र निशान राखेर विशेष पुजारीद्वारा पूजाआजा तथा स्थानीयवासीले समेत छुट्टा–छुट्टै पूजाआजा गरिसकेपछि रथ तानेर जात्रा सुरु गरिन्छ । 

काठ, फलाम र जस्ता प्रयोग गरी प्यागोडा शैलीमा तीनतले भैरवनाथको रथ तयार भएको छ । काठ र फलामबाटै भद्रकालीको दुईतले रथ बनाइएको छ । भैरवनाथ र पाँचतले मन्दिर अगाडि निर्माण भएका रथको पूजाआजापछि तान्त्रिक विधिअनुसार नै तौमढीका तल्लो र माथिल्लो टोलका बासिन्दाबीच रथ तान्ने प्रतिस्पर्धा हुन्छ ।

रथको अगाडि भागमा ६ र पछाडि चारवटा लामो डोरी राखिएका हुन्छन् । 

मदिरा बेचबिखन गर्न निषेध
प्रशासनले जात्राका वेला भक्तपुरमा मदिरा बेचबिखन गर्न रोक लगाएको छ । प्रहरीले जात्रामा संयमता अपनाउन र सभ्यताको पहिचान दिन आग्रह गरेको छ ।

जात्रामा झैँ–झगडा र दुर्घटना हुनुको मुख्य कारण नै मदिरा सेवन भएको निष्कर्ष निकाल्दै जात्रा सन्चालन क्षेत्र वरपर मदिरा सेवन र बेचबिखन गर्न निषेध गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताए ।

‘बजार क्षेत्रका सबै पसलको तथ्यांक संकलन गरी निरीक्षणसमेत गरेका छौँ, मदिरा बेचबिखन नगर्ने मौखिक सहमति सबैसँग भएको छ,’ उनले भने । कसैले मदिरा बेचबिखन गरेको वा सेवन गरी होहल्ला गरेको पाइए कानुनबमोजिम कारबाही हुने उनले बताए । 

हजार प्रहरी परिचालन
जात्रा अवधिभर भक्तपुरमा एक हजारभन्दा बढी प्रहरी परिचालन गर्ने तयारी छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठका अनुसार चौध स्थानमा नेपाल प्रहरीको बाक्लो गस्ती रहनेछ । जात्राका लागि थप तीन सय जनशक्ति माग गरी नौ सय ४१ नेपाल प्रहरी परिचालन गर्ने उनले बताए ।

करिब दुई सय सशस्त्र प्रहरीसमेत जात्रामा खटाउने तयारी छ । आवश्यकताअनुसार सेना परिचालनको समेत तयारी छ । रथ तान्नेवेला रथको अघिपछि प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिनेछ । नगरका ४३ स्थानमा सिसी क्यामेरा जडान भएका छन् । 

जात्राका लागि फरक सुरक्षा रणनीति अपनाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । उनले भने, ‘गस्ती बाक्लो बनाउने तयारी छ, ठाउँ–ठाउँमा सिसी क्यामेरा राखिएका छन्, सादा पोसाकमा पनि प्रहरी परिचालन हुनेछन् ।’

जात्रामा रथ तान्ने क्रममा दुई समूहबीच झडप हुने, ढुंगामुढा हुने र मादक पदार्थ सेवन गरी झैँ–झगडा सम्भावना औँल्याउँदै प्रशासनले सचेतना अपनाएको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस