संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिन ओली आज अमेरिका जाँदै

Kp oli 17

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७३औं महासभामा सहभागी हुन प्रधानमन्त्री केपी ओली आज अमेरिका जादैछन् । ७३औं महासभामा सहभागी भएपछि ओली मध्य अमेरिकी मुलुक कोष्टारिक जाने छन् ।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव, परराष्ट्रका सहसचिव सहित २१ सदस्यी टोली रहनेछ ।

संयुक्त राष्ट्रसंघको महासभा मंगलबारबाट सुरु हुँदैछ । ओलीको उच्चस्तरीय छलफल भने मंगलबारबाट हुँदै छ । प्रधानमन्त्री ओलीले महासभामा बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ ।

‘राष्ट्रसंघलाई सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मुख्य विषय रहेको सम्मेलनमा उनले नेपालको पछिल्लो राजनीतिक अवस्थासहित सरकारले गर्दै आएका कार्य र अन्तर्राष्ट्रिय प्रतिवद्धताबारेमा प्रकाश पार्नेछन् ।

यस्तो छ कार्यक्रम तालिका
महासभामा सम्बोधन गर्नुअघि ओलीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग द्धयपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

उनले नेल्सन मण्डेला शान्ति शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ । मण्डेलाको सम्मानमा जन्म शताब्दी मनाउन राष्ट्रसंघले यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो । उनी सोही दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने छन् ।

ओली ट्रम्पसँग एकदेखि दुई मिनेट संक्षिप्त कुराकानी गर्न पाउने छन् । त्यसैगरी ट्रम्पको सम्मान समारोहको भोलिपल्ट ओली उच्चस्तरीय सम्बोधनमा सहभागी हुनेछन् । सम्बोधनपछि ओली नेपाली समुदायसँगको भेटघाटसहित साइडलाइन भेटमा सक्रिय बन्नेछन् ।

कोस्टारिका जाने
प्रधानमन्त्री ओली शुक्रबार कोस्टारिका जाने कार्यक्रम छ । ओलीको सम्बोधनकै दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्क विदेशमन्त्रीसँग अनौपचारिक बैठक गर्नेछन् ।

सार्क महासचिव अम्जद हुसेन बी सियाल प्रधानमन्त्री ओलीसँगै बसेर यात्रा गर्न लागेका छन् । प्रधानमन्त्रीले स्विजरल्यान्डका राष्ट्रपति एलिन ब्रिसेट र कम्बोडियाका प्रधानमन्त्री समेच उर्फ मोह सेना पाडी तेच हान सेनसँग भेट गर्ने कार्यक्रम छ ।

उनले कोस्टारिकाका राष्ट्रपति कार्लोस आलभाद्रोसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उनले कोस्टारिकास्थित राष्ट्रसंघीय शान्ति विश्वविद्यालयमा सम्बोधन गर्नेछन् ।

प्रतिकृया दिनुहोस