काँग्रेस सरकारमा रहे पनि नरहे पनि विकासका लागि प्रतिबद्ध पार्टी हो : प्रधानमन्त्री देउवा

Sher bdr deuba
 
चितवन हात्ती महोत्सवको आज सौराहामा उद्घाटन गर्दै उनले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाले अब नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताए । 

निर्वाचनले पार्टीलाई घाटा हुन्छ भन्ने जान्दाजान्दै पनि देशलाई निकास दिन काँग्रेसको नेतृत्वको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गरी संविधानको पूर्णरुपमा कार्यान्वयन गर्न सफल भएको उनको भनाइ थियो । ‘‘यो निर्वाचन निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा सकारात्मक सन्देश प्रवाह भएको छ’’ प्रधानमन्त्रीले भने । 

नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले नेपालको राजनीतिक इतिहासमा भएका महत्वपूर्ण ऐतिहासिक उपलब्धि काँग्रेसले आफ्नै नेतृत्वमा सम्पन्न गरेको छ र त्यही उपलब्धिमध्येको अहिलेको संक्रमणको अन्त्य पनि भएको उल्लेख गरे । 

लोकतन्त्रबाटै विकास हुन्छ भन्ने कुरामा आफूहरु विश्वस्त रहेको भन्दै उहाँले संविधानलाई संस्थागत गरी अघि बढ्नुपर्ने अबको आवश्यकता रहेको बताए । 

काँग्रेसकै नेतृत्वमा देशमा सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकास भएको भन्नुहुँदै उनले अब मुलुकले थप समृद्धिको यात्रा तय गर्नुपर्नेछ भने । सभापति देउवाले नेपाली काँग्रेस सरकारमा रहे पनि नरहे पनि विकासका लागि प्रतिबद्ध पार्टी हो भने । 

पर्यटन क्षेत्रको विकासमा सरकार प्रतिबद्ध भएर लागेकै कारण नेपालमा पर्यटकको आगमन बढ्दै गएको बताउँदै प्रधानमन्त्रीले आव २०७२÷७३ मा सात लाख १० हजार पर्यटक आगमन भएको र त्यसबाट मुलुकमा ५० करोड अमेरिकी डलर भित्रिएको जानकारी दिए । चौधौँ योजनाको अन्त्यसम्ममा वार्षिक पर्यटक आगमन १२ लाख पु¥याउने र बसाइँ १५ दिन पु¥याउने लक्ष्य राखिएको उनले बताए । 

हात्ती महोत्सवले पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने उहाँले भन्दै यस्ता महोत्सवले पर्यटक आवागमनमा वृद्धि भई स्वदेशमै स्वरोजगारी सिर्जना गरी पर्यटन क्षेत्रमा संलग्न नागरिकको जीवनस्तर उकास्न सहयोग मिल्ने विश्वास व्यक्त गरे । 

नेपाल प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण देश भएकाले पर्यटकीय क्षेत्रको विविधीकरण गर्दै नयाँ पर्यटकस्थलको पहिचान गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको मुख्य उद्योगका रुपमा विकास गर्न जरुरी रहेको बताए । 

भूकम्प, बाढीका कारण सौराहाको पर्यटन व्यवसाय प्रभावित भएको भन्दै उनले विस्तारै सुधार हुँदै गएका अवस्थामा भएको यस कार्यक्रमले पर्यटन व्यवसायीलाई थप हौसला मिल्ने पनि उनले बताए । 

गत साउनमा आएको बाढीले बगाएका गैँडालगायतका दुर्लभ वन्यजन्तुको उद्धारमा संलग्न सबैलाई प्रधानमन्त्री देउवाले धन्यवाद ज्ञापन गरे । व्यवसायीको मागप्रति आफू सकारात्मक रहेको भन्दै उनले नारायणगढ–मुग्लिन सडक अझै पनि सम्पन्न नभएको सुन्दा चिन्तित बनेको बताए । आफूले पुनः सो सडक निर्माण छिटो सम्पन्न गर्न आवश्यक निर्देशन दिने पनि उनले बताए । 

सो अवसरमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले पूर्वी चितवनमा बाढीको समस्या रहेको भन्दै स्वीस सरकार र नेपाल सरकारको संयुक्त लगानीमा तटबन्धको काम हुँदै आएको बताए । उक्त परियोजना यसै वर्ष सम्पन्न हुने बताउँदै राज्यमन्त्री अधिकारीले त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा चितवन क्षेत्र नं १ ‘ख’ का प्रदेश सांसद कृष्णप्रसाद खनाल, होटल संघ नेपाल(हान)का केन्द्रीय अध्यक्ष अमरमान शाक्य, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुंगाना, क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेलगायतले बोलेका थिए  । 

कार्यक्रमका अवसरमा संरक्षणमा उत्कृष्ट कार्य गरी वन र वन्यजन्तु संरक्षणमा विशेष योगदान दिने चितवन राष्ट्रिय निकुञ्जलगायत विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । ‘समाज, संरक्षण र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यवसायीको रहेको छ । 

पर्यटकीय नगरी सौराहामा हरेक वर्ष हुँदै आएको हात्ती महोत्सवको १४औँ संस्करण आजदेखि शुरु भएको हो । क्षेत्रीय होटल संघ सौराहाले आयोजना गरेको महोत्सव यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ । 

महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती फाष्ट वाक प्रतियोगिता, हात्तीको छावाको रोचक फुटबल प्रतियोगिता, हात्ती शृङ्गार प्रतियोगिता, हात्ती बार्थिङ्ग प्रतियोगिता, हात्ती पेन्टिङ प्रतियोगिता गरिने महोत्सव मूल आयोजक समितिका संयोजक दीपक भट्टराईले जानकारी दिए। कार्यक्रम अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिँदै छ । 

बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आयोजना गरिएको महोत्सव हरेक वर्ष अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा गरिँदै आएको छ । महोत्सव सम्पन्न गर्न करिब रु ८१ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...