प्रधानमन्त्रीले संविधान संशोधनका विषयमा भारतमा दिएको अभिव्यक्ति स्वभाविक हो : मन्त्री विश्वकर्मा

Min bishwo kasrma

काठमाडौँ । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भम्रण उपलब्धिमूलक भएको बताएमा छन । 

रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा उनले केही समयदेखि चिसिएको सम्बन्धमा यसपटकको भम्रणले सुधार गरेको दाबी गरे। उनले भने, “प्रधानमन्त्रीले संविधान संशोधनका विषयमा भारतमा दिएको अभिव्यक्ति स्वभाविक हो, यसलाई विवादित बनाउनुपर्ने विषय होइन, बरु यसले नेपालका असन्तुष्ट पक्षलाई संशोधनका विषयमा आफ्नो मुद्दा हराएको छैन भन्ने आशा जगाएको छ ।” 

भारतले नेपालमा सम्पन्न स्थानीय निर्वाचन र बाँकी निर्वाचनका लागि शुभकामना दिएको उल्लेख गर्दै भन्दै भारतका हरेक विषयलाई आलोचना गर्दैमा राष्ट्रवादी भइने भ्रमलाई त्याग्नुपर्नेमा जोड दिए । 

नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भारत भम्रणका समयमा अपेक्षाकृत विषय नउठाइएको बताए । “प्रधानमन्त्रीले भारतसमक्ष उठाउनु पर्ने महत्वपूर्ण विषयमा छलफल नै गर्नु भएन, बरु नितान्त राष्ट्रिय विषयलाई अर्काको देशमा गएर बोल्नु आपत्तिजनक र लज्जास्पद भयो”– उनले भने । 

उनले पुराना सम्झौतालाई कार्यान्वयन गर्ने, भारतीय सीमामा बनेका बाँध र सडकले नेपालमा डुबान भई जनधनको क्षति, भारतीय व्यापारिक नीतिका कारण नेपालको व्यापारमा परेको समस्याबारे भ्रमणका समय छलफल नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । 

नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले भारत र चीनबीचको समस्यामा नपसी प्रधानमन्त्रीले सन्तुुलन कायम गर्न सफल भए पनि कूटनीतिक प्रस्तुति भने कमजोर रहेको टिप्पणी गरे । उनले भने, “नेपालमा सम्पन्न निर्वाचनप्रति बधाई दिई आगामी निर्वाचनका लागि शुभकामना दिई भारतले संविधानलाई स्वीकार गरेको छ, यो सकारात्मक पक्ष हो ।” 

राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीले संविधान संशोधनका विषयमा दिएको प्रतिक्रिया स्वागतयोग्य भएको बताए । प्रधानमन्त्रीले आफ्नै देश र जनताका हितमा पुनः संविधान संशोधनको विषय बोलेको उनको भनाइ थियो । 

प्रतिकृया दिनुहोस