मन्त्रीमण्डल विस्तार ढिलाईले कांग्रेसभित्र रडाको

पौडेललाई फकाउन खोज्दा सिटौला सनक्क

Sher bdr deuba (1)

काठमाडौं । पूर्ववर्ती सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि निक्कै उत्साहका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । तर, उनले अझै मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन् ।

प्रधानमन्त्री देउवा मन्त्रीमण्डल विस्तार गर्न आफ्नै पार्टीभित्रको आन्तरिक किचलो र भागवण्डा मिलाउन नसक्दा लामो समयदेखि ८ जनाको मन्त्रीमण्डलबाटै काम चलाउन बाध्य भएका छन् ।

दोस्रो चरणको निर्वाचन सम्पन्न गरेपछि मात्र मन्त्रीमण्डल विस्तार गर्ने सरकार साझेदार दल माओवादीसँग सहमति बनेको भए पनि निर्वाचन सम्पन्न भएको एक साता पुग्दा पनि उनले विस्तार गर्न सकेका छैनन् ।

प्रधानमन्त्री देउवाले सम्भवत आज मन्त्रीमण्डल विस्तार गर्न सक्छन् । तर आफ्नै दलका नेताहरुले बखेडा झिकिरहेका कारण उनलाई मन्त्रीमण्डल विस्तार गर्नु फलामको चिउरा चपाउनु सरह बन्ने देखिएको छ ।

सरकार साझेदार दल माओवादी केन्द्रले पनि कांग्रेसभित्रको आन्तरिक कारणले सरकार विस्तारमा ढिलाई भइरहेकोमा आपत्ति जनाउन थालेको छ । केन्द्रकी प्रवक्ता पम्फा भुषालले कांग्रेसभित्रकै आन्तरिक विवादका कारण प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल मन्त्रीमण्डल विस्तार गर्ने पक्षमा नरहेको दावी गरेकी छन् ।

प्रधानमन्त्रीको निर्वाचन हुँदा १७ पटकसम्म पराजित भएका कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसले पाउने १२ मन्त्रालयमध्ये आफ्नो पक्षले ६ मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएका छन् । तर, देउवा भने कृष्णप्रसाद सिटौलालाई समेत मिलाउनुपर्ने भएकाले पौडेल पक्षलाई ४ मन्त्रालय दिने मानसिकतामा पुगेका छन् । तर, पौडेलले त्यसलाई अस्वीकार गर्दै आएका छन् । त्यही भएर देउवाले सरकारमा सहभागी हुनेको नाम मादा पनि दिएका छैनन् ।

देउवाले पौडेल पक्षलाई ४ र कृष्णप्रसाद सिटौलालाई एउटा मन्त्रालय दिएर आज मन्त्रीमण्डल विस्तार गर्ने योजना बनाएका छन् । तर, हालसम्म आफ्नै दलका नेताले रडाको मच्चाएपछि देउवा अल्मलमा परेका छन् ।

यता पार्टी सभापति देउवाले पौडेललाई ४ मन्त्रालय दिने तयारी गरेको सुँइको पाएपछि अर्का नेता कृष्णप्रसाद सिटौला सनक्क भएका छन् । उनले पहिले २ मन्त्रालय माग्दै आएको भए पनि अहिले ३ मन्त्रालय पाउनुपर्ने तर्क अघि सार्न थालेको कांग्रेस स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाले भने सिटौलाको भागमा १ मन्त्रालय छुट्टयाएका छन् । सिटौलाले नाम दिए १ राज्य मन्त्रीसमेत दिने संकेत गरेका छन् ।

सरकारको बलियो साझेदार दल माओवादी केन्द्रले भने आफ्नो तर्फबाट सरकारमा पठाउने मन्त्रीको नाम चयन गरिसकेको जनाएको छ ।
देउवाले मधेशी संघीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याउन तयारी गरिरहेका छन् । राप्रपा पनि ४ मन्त्रालय लिएर सरकारमा सहभागि बन्दैछ । तर, अझैंसम्म पनि राप्रपाले उपप्रधानमन्त्रीको दावी भने छाडेको छैन ।

प्रतिकृया दिनुहोस