क्रेग इर्भिन र सिन विलियम्सले शतक बनाएपछि जिम्बावेसँग पराजित

Icc criket

काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ । नेपालले सोमबार अमेरिकासँग खेल्नेछ । समूह ‘ए’ मा नेपाल, जिम्बावे, अमेरिकासहित वेस्ट इन्डिज र नेदरल्यान्ड्स रहेका छन् ।

नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्दै जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिए पनि हरारेको मैदानमा नेपाली बलरहरु घरेलु टोली जिम्बाव्वेलाई रोक्न असफल भए ।

कप्तान क्रेग इर्भिन र सिन विलियम्सले शतक बनाएपछि जिम्बावेले विश्वकप छनोट क्रिकेटमा नेपालमाथि ८ विकेटको सानदार विजय हात पारेको छ । यी दुईले तेस्रो विकेटमा २१ ओभरभित्र १ सय ६४ रनको साझेदारी गरेपछि नेपालले छाडेको २ सय ९१ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा पूरा गर्‍यो ।

इर्भिन १ सय २१ र सिन विलियम्स १ सय २ रन बनाई अविजित रहे । ३७ वर्षे इर्भिनले १ सय २८ बल खेली १५ चौका र १ छक्का तथा १ सय ५० औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका विलियम्सले ७० बल खेली १३ चौका र १ छक्का प्रहार गरे ।

जोयलर्ड गुम्बी २९ बलमा २५ रन बनाई सोमपाल कामीको बलमा आउट भए । प्लेयर अफ द म्याच इर्भिनले त्यसपछि दोस्रो विकेटमा वेस्ली माधेभेरेसँग ८२ रनको साझेदारी गरे । माधेभेरे ३८ बल खेली २ चौकासहित ३२ रन बनाई आउट भए पनि अनुभवी इर्भिन र विलियम्सले ठूलो लक्ष्यमा जिम्बावेलाई सजिलै पुर्‍याए । इर्भिनको यो पाँचौं र ३६ वर्षे विलियम्सको यो तेस्रो शतक हो ।

यसअघि कुशल भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाडी बन्ने मौकाबाट चुके पनि नेपालले जिम्बावेलाई विश्वकप छनोटमा ठूलो लक्ष्य दिएको थियो । घरेलु टोलीले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ९० रन बनाएको थियो ।

हरारे स्पोर्टस क्लबमा कुशल ९९ रन बनाएपछि बोल्ड हुन पुगे । वेलिङ्टन मासाकाद्जाले बोल्ड गरेपछि कुशल ‘नर्भस ९९’ को सिकार भए । कुशलले ९५ खेल्दै १३ चौका र २ छक्का प्रहार गरे ।

कुशलले आसिफ शेखसँग पहिलो विकेटमा १ सय ७१ रनको साझेदारी गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो सबैभन्दा ठुलो साझेदारी हो । आसिफ र ज्ञानेन्द्र मल्लले नामिबियाविरुद्ध फेब्रुअरीमा दोस्रो विकेटमा १ सय ३९ रन जोडेका थिए ।

कुशल ३२ औं ओभरमा आउट भए । कुशलले यसअघि फेब्रुअरी १४ मा नामिबियाविरुद्ध विश्वकप लिग २ मा यसअघि १ सय १५ रन बनाएका थिए । यसअघि पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख र कुशल मल्लले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए ।

कुशलले १ रनमै जीवनदान पाएका थिए । चौथो ओभरमा रिचर्ड नगराभाको बलमा पहिलो स्लिपमा सिकन्दर राजाले क्याच छाडेका थिए । त्यसपछिको अर्को ओभरमा कुशलले टेन्डेइ चतारालाई दुई चौका प्रहार गरे ।

आसिफले ६६ रन बनाए । १ सय बल खेलेका उनले ७ चौका प्रहार गरे । उनलाई पनि मासाकाद्जाले आउट गरे । कुशल मल्ल र कप्तान रोहित पौडेलले तेस्रो विकेटमा १० ओभर भित्र ७२ रनको साझेदारी गरे । रोहितले २९ बल खेली ५ चौकासहित ३१ रन बनाए । कुशलले ४२ खेली २ चौका र ३ छक्का सहित ४१ रन बनाए ।

आरिफ शेख १०, गुल्शन झा १३ र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए । करण केसी २ र सोमपाल कामी शून्य रनमा अविजित रहे । नगभाराले ४ विकेट लिदैं एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उत्कृष्ट प्रदर्शन गरे । उनले ९ ओभरमा १ मेडन राख्दै ४३ रन खर्चे । मासाकाद्जाले नेपालका ओपनरद्वयलाई आउट गर्नेक्रममा १० ओभरमा ४२ रनमात्र खर्चेका थिए ।

 

प्रतिकृया दिनुहोस