विश्वकप छनोटमा आज नेपालले जिम्बाब्बेसँग खेल्दै

Icc nepal teem

काठमाडौं । आजदेखि जिम्बाब्वेमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ ।

समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।

नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१८ मा पनि जिम्बाब्वेमै भएको विश्वकप छनोटमा जिम्बाब्वेसँग खेलेको थियो । तर, त्यतिबेला नेपालको ओडीआई मान्यता नभएकोले उक्त खेलले पनि ओडीआई मान्यता पाएन । अब भने विश्वकप छनोट खेल्ने सबै १० टोलीसँग ओडीआई मान्यता छ ।

२०१८ मा ओडीआई मान्यता पाएपछि नेपालले ५१ ओडीआई खेलिसकेको छ र पाँच वर्षपछि फेरि जिम्बाब्वेमै विश्वकप छनोट खेल्दैछ । यस पटक अझ ठूला टिमसँग खेल्ने अवसर पाएको नेपालका लागि यो राम्रो अनुभव पनि हुनेछ । नेपालले समूह चरणमा जिम्बाब्वेसहित पूर्वविश्व विजेता वेष्ट इन्डिजसँग पनि पहिलो पटक खेल्दैछ । यस्तै नेदरल्याण्ड्स र अमेरिकासँग पनि समूह चरणमा खेल्नेछ ।

नेपालले यस पटक सुपर सिक्समा पुग्ने लक्ष्य राखेको छ । नेपालले २० जुनमा अमेरिका, २२ जुनमा वेष्ट इन्डिज र २४ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ । समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

प्रतिकृया दिनुहोस