राष्ट्रियसभा सदस्य निर्वाचन : यस्तो छ २० बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड (विज्ञप्तीसहित)

Nirbachan aayog

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आयोगले मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायतलाई लक्षित गरेर २० बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने भएको हो ।

मापदण्डअनुसार कोरोना संक्रमण पुष्टि भएका मतदाताहरुलाई प्राथिमकताका साथ छुट्टै लाइनमा राखेर अन्य मतदानको व्यवस्था गराइएको छ । कोरोना संक्रमितहरूले पन्जा, मास्क र फेस सिल्डको प्रयोग अनिवार्य गरेर मतदान गर्न पाउने आयोगले बताएको छ ।

संक्रमितहरूले मतदान गर्दा मतदानको कार्य केही समयका लागि स्थगित गरेर उनीहरूलाई मतदान गर्न दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । संक्रमितहरूले प्रयोग गरेका मतदान स्थलमा सामग्रीहरू निःसंक्रमण गरी पुनः नियमित मतदानको कार्य सुचारु गर्ने व्यवस्था मिलाउनुपर्ने सूचनामा उल्लेख छ ।

मतदान स्थलमा तापक्रम मापन गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्री सहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कको व्यवस्था गर्न समेत आयोगले निर्देशन दिएको छ । भौतिक दूरी कायम गर्न, अनावश्यक भिडभाड हुन नदिन, मतदान स्थलमा अनिवार्य रूपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्सको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

मतदान स्थलमा सामाजिक दूरी अनिवार्य गरिएको छ । स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गरिएको छ । मतदान सामग्रीहरूको अनिवार्य रुपमा निःसंक्रमण गर्नेुपर्ने स्वास्थ्य मापदण्डमा उल्लेख छ ।


प्रतिकृया दिनुहोस