मुस्ताङमा हिमपात  

Humla snow

काठमाडौँ । गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ । म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्का हिमपात सुरु भएको स्थानीय बासिन्दाले बताएका छन् ।

लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रका साथै म्याग्दीको गुर्जामा पनि हिमपात सुरु भएको स्थानीयवासी मनबहादुर विकले जानकारी दिए ।

माथिल्लो क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ । मुस्ताङको सदरमुकाम जोमसोम र म्याग्दीको सदरमुकाम बेनी आसपास क्षेत्रमा आज बिहानैदेखि पानी परेको छ ।

वर्षा, हिमपात, हुस्सु र कुहिराका कारण जोमसोम–पोखरा हवाई उडान पनि हुन सकेको  छैन । मौसम प्रतिकूल बनेको हुँदा पोखराबाट जहाजले उडान भर्न नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार मुस्ताङमा यो बेला दोस्रो पटक हिमपात भएकाले यहाँको जनजीवनमा समेत असर परेको छ । हिमपात र वर्षाका कारण त्यहाँको तापक्रम माइनसतर्फ झर्दै गइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मुस्ताङ र म्याग्दीका उच्च लेकाली क्षेत्रमा हिमपात भएपछि तल्लो म्याग्दीमा जाडो बढेको छ । अत्यधिक चिसोका कारण गाउँगाउँका शिवालयमा शतबीज छर्ने भक्तजनलाई समस्या भएको छ ।

  

प्रतिकृया दिनुहोस