स्वास्थ्यमन्त्री खतिवडाको पहलमा टेकु अस्पातालमा नि : शुल्क इमरजेन्सी सेवा   

Shukraraj hospital

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष पहलमा टेकु अस्पताल भनेर चिनिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा इमरजेन्सी सेवा निःशुल्क हुने भएको छ ।

कोरोना भाइरसको तेस्रो लहरले हुनसक्ने संभावित जोखिमलाईसमेत मध्यनजर गर्दै जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न अस्पतालले यही मंसिर १९ गतेदेखि निःशुल्क सेवा प्रवाह गर्ने भएको हो ।

अस्पतालमा इमरजेन्सी विभागमा आएका विरामीहरुको पछिल्लो २४ घण्टा भित्र हुने परिक्षण र उपचार शुल्क देखि टिकट सम्म सबै निशुल्क हुने व्यववस्था गरिएको हो । निशुल्क अन्तर्गत रगत परिक्षण, एक्सरे, इसीजी, टिकट लगायतका सुविधा र २४ घण्टा भित्रको परिक्षण सुविधा र लाग्ने औषधी समेत रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

‘सिवीसी, आरबीएस, युरीया क्रियटीभ, सोडीयम, पोटासियम, युरीन आरएमइ, स्टुल आरएमइ , एक्सरे चेस्ट, इसीजी, ब्लड ग्रुपीङ, सिटी लगायत रहेका छन् । नेपालको संविधानमा स्वास्थ्यको हकलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट नि : शुल्क स्वास्थ्य सेवा दिलाउने उदेश्यअन्तर्गत पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गरिएको मन्त्री खतिवडाको सचिवालयले जनाएको छ ।

सरकारी अस्पतालमा हुने यस्तो व्यवस्थाले जनमुखी सरकारको प्रत्याभुती दिने र नेपाल सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुने स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले बताए । उनका अनुसार आगामी दिनमा अन्य सरकारी अस्पतालहरुमा समेत यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनेबारे पहल भैरहेको छ ।

अस्पतालको निर्देशकका रुपमा डा.मनिषा रावलले जिम्मेवारी सम्हालेसँगै नयाँ व्यवस्था कार्यान्वयनमा आउन लागेको हो । यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा स्वास्थ्य मन्त्रालयले नै सहयोग गर्ने भएको छ ।

  

प्रतिकृया दिनुहोस