राउटेको जनसंख्या १४४ पुग्यो, दुई महिनामै १० ठाउँमा सरे

154441938raute janaganass

काठमाडौँ । फिरन्ते जीवन बिताउँदै आएका राउटेहरूको संख्या बढेको छ । पछिल्लो समय यो समुदायमा मृत्युदर बढी रहे पनि जनसंख्यामा पनि वृद्धि भएको देखिएको छ । जारी जनगणनामा उनीहरूको गणना भएको हो ।

स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको यो समुदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जाति हो ।

यो समुदाय दुई महिनाअघि मात्रै सल्यानको पश्चिम बनगाड कुपिन्डे नगरपालिका- १ वालुबासग्रही बाँगीरह हुँदै भेरी किनारदेखि एक सातामै सोही वडाको घाटगाउँमा बसाइँ सरेको थियो । उक्त समय ४६ घरधुरी रहेका राउटेको संख्या १४१ थियो ।

एक सातायता राउटेहरू नगरको वडा नम्बर ३ काँरागाउँमा सरेका छन् । सोही क्षेत्रमा बसाइ सरेका राउटेको पनि गणना भएको हे । यो क्रममा राउटेको संख्या १४४ पुगेको छ । ७५ महिला र ६९ पुरुष गरी १४४ पुगेको गणक टोलीले बताएको छ । राउटे समुदायमा पुगेर गण टोलीले दुई दिन लगाएर गणना गरेको हो । राउटे बस्तीमा उनीहरूको विवरण संकलन गर्न दुई दिन लागेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले बताए ।

खानपानको शैली बदलियो 

पहिलेको तुलनामा अहिले राउटेको खानपिनको शैलीमा परिर्वतन आएको छ । पहिले वन जंगलमा पुग्दै वनको कन्दमूल खाने, बाँदरको सिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नुन छर्केर खाने गर्थे आजभोलि यसरी खान छोडेका छन् । योसँगै उनीहरूको बस्ने शैलीमा पनि परिर्वतन भएको छ । पहिले पहिले बाक्लो समाज मन नपराउने र समाजका मानिसहरूबाट टाढा रहने यो समुदाय आजभोलि समुदाय नजिक बसोबास गर्न थालेका छन् ।

गत मंसिरयता १८ राउटेको मृत्यु

लोपोन्मुख राउटे समुदाय सल्यानमा बसाइँ सरेपछि उनीहरूको मृत्युदरमा केही कमी आएको छ । गतवर्ष मंसिरदेखियता मात्र १८ राउटेको मृत्यु भएको थियो । पछिल्लो समयमा मयो शाही, दलबहादुर शाही, मानसिंह शाही, शिवराज शाही, कान्छाराम शाही, कपिल शाहीको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवनका कारण अकालमा धेरै राउटेको ज्यान गइसकेको छ । एकातिर मदिराको अत्यधिक सेवन र अर्कोतिर बिरामी हुँदा स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्दा मृत्युदर बढेको देखिन्छ ।

गणनामा केहीको संख्या बढेको भए पनि वर्षेनी राउटेको संख्या घट्दो छ । सरकारले दिने भत्ता उनीहरू रक्सीमा खर्च गर्ने गरेको देखिन्छ । आफ्ना समुदायका सदस्यको मृत्यु हुनासाथ बस्ती छाड्ने प्रचलनका कारण यो समुदाय छिटो छिटो बसाइँ सर्ने गर्छ ।

दुई महिनामै १० ठाउँमा सरे

जंगलमा फिरन्ते जिवन बिताउदै आएको राउटेहरु पछिल्लो दुइ महिनामा मात्र १० वटा ठाउँमा सरिसकेका छन् । पछिल्लो दुई महिनामै उनीहरु १० ठाउँमा बसाइँ सरिसकेका छन्। उनीहरुको रुढिवादी चिन्तनका कारण राउटेको गणना गर्न सहज भने थिएन । यद्यपी लामो प्रयास गरेर गणक टोलीले राउटेको गणना गरेको हो ।

  

प्रतिकृया दिनुहोस