वागमती प्रदेशमा सरकार चलाउने भागबण्डा, पहिले पाण्डे मुख्यमन्त्री बन्ने

Bagmati pande baniya

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्री पद आधा–आधा कार्यकाल चलाउने सहमति गरेका छन् ।

यसअघि बुधबार बेलुका काठमाडौंमा गठबन्धनका शीर्ष नेताबीच यस्तो सहमति भएको थियो । गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नेछन् ।

अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको बर्हिगमनपछि समाजवादी र कांग्रेसले आलोपालो सत्ताको नेतृत्व गर्ने छन् । समाजवादी पार्टी प्रदेशसभा संसदीय दलका सचेतक वसुन्धरा हुमागाईँका अनुसार बिहीबार विहान हेटौंडामा बसेको केन्द्रीय सत्तारुढ गठबन्धनको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको हो ।

यसअघि समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बागमती प्रदेश सरकारको नेतृत्व आफुहरुले गर्ने सहमति भइसकेको दाबी गरेका थिए । कांग्रेसले आफ्नो दाबी नछोडेपछि महामन्त्री डा. प्रकाशशरण महतको उपस्थितिमा बसेको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटाएको हो ।

मुख्यमन्त्री शाक्यले प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव दर्ता गराइसके पनि त्यसबारे छलफल अघि बढेको छैन । स्रोतका अनुसार मुख्यमन्त्री शाक्यले स्पष्ट अल्पमतमा परिसकेकाले विश्वासको मत सामना गर्नुभन्दा राजीनामा दिने तयारी गरेकी छिन् ।

 

प्रतिकृया दिनुहोस