बझाङमा बाढीको वितण्डा : २४ जना बेपत्ता, ७ घर पुरिए

Bajhang landslide

बझाङ । लगातारको वर्षापछि आएको बाढी बहिरोमा परी बझाङको एकै गाउँमा १८ जनासहित २४ जना बेपत्ता भएका छन् । सोमबार रातिको पहिरोमा परेर थलारा गाउँपालिका -४ डिक्लामा २४ जना हराइरहेका हुन् ।

बेपत्ता हुनेमा गगने सार्कीका एकै परिवारका १८ जना र नरे पार्कीको परिवारका ६ जना रहेका छन् । गगने सार्की भने रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र हाल सम्पर्कमा आएका छन् ।

त्यसैगरी पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायी रुपमा आश्रय लिइरहेका छन् । पूरा गाउँ पहिरोको जोखिममा परेपछि सय भन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताए ।

आइतबार रातिबाट सुरु भएको अविरल वर्षाका कारण जिल्लाभर जनजीवन अस्तव्यस्त भएको छ । पहिरोले जयपृथ्वी नगरपालिका -१ पिमी गाउँमा मात्रै ६० परिवार विस्थापित भएको स्थानीयले बताएका छन् ।

लगातारको वर्षासँगै सदरमुकाम नजिक भएर बग्ने डुङग्री खोलामा आएको बाढीले डुङग्री बजार र लेकी जोड्ने झोलुङगे पुल बगाएको छ । पुल नजिक रहेका ५ वटा पक्की घर पनि बगाएको र बजारका अरु घरहरु पनि जोखिममा परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडा भन्ने ठाँउबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएको स्थानीय प्रहरीले जनाएको छ ।

पहिरो पीडितको उद्वारमा खटिएको प्रहरी टोली डिक्ला पुगे पनि पहिरो खसिरहेका कारण उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।

अविरल वर्षा र पहिरोले सुदूरपश्चिमका धेरै पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध भएको छ । पहिरोले जिल्ला जोड्ने जयपृथ्वी राजमार्ग लगायत जिल्लाभित्रका सबै ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।

सोमबारदेखि नेपाल टेलिकमको संचार सेवा पूर्ण रुपमा अवरुद्ध छ भने एनसेलको सेवा आंशिक रुपमा सूचारु छ । ठाउँठाउँमा पोल ढलेका कारण जिल्लाभरको विद्युत सेवा अवरुद्ध छ । सदरमुकाम चैनपुर लगायत दर्जन बढी ठाँउको खानेपानी सेवा पनि अवरुद्ध भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...