संखुवासभा सामूहिक हत्या प्रकरण : घटनास्थलबाट थप चारजना अनुसन्धानमा तानिए

Sankhuwasava ghatana

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्याको अनुसन्धान गर्न प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित थप चारजना माथि अनुसन्धान थालेको छ । मादी –१ उम्लिङ खोला गाउँमा भएको हत्याकाण्डमा अनुसन्धानका लागि  थप चारजना  अनुसन्धानमा तानिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । 

एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।  लोकबहादुरका भाइ नरेशलाई समेत अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिएसकेको छ । हत्यामा संलग्न लोकबहादुर र उनका भाइ नरेश बाहेक थप चारजनामाथि प्रहरीले अनुसन्धान थालेको प्रवक्ता एपसी राईले बताए ।

प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि शनिबार इलाका प्रहरी कार्यालय चैनपुर ल्याएको छ । नियन्त्रणका लिएकाहरु मृतक तेजबहादुरका छिमेकी हुन् । तर,  नियन्त्रणमा लिएकाहरूका नाम भने खुलाइएको छैन । मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि अनुसन्धान टोली पुन: घटनास्थल पुगेको प्रवक्ता राईले बताए ।

घटनाबारे थप प्रमाण फेला परेपछि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा प्रदेश १ प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरिहेको प्रवक्ता राईले जानकारी दिए ।  घटनास्थल खोला गाउँमा प्रहरी निरीक्षक योगराज खतिवडाको कमाण्डमा अनुसन्धान गर्न १० जनाको प्रहरी घटनास्थलमा तैनाथ गरिएको छ ।  

गत २१ भदौमा उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।  लोकबहादुरले ६ जनाको हत्या गरेको बताइएको छ । लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई नियन्त्रणमा लिएको थियो ।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य चारजना माथि समेत प्रहरीले अनुसन्धान थालेका प्रवक्ता राईले बताए । प्रहरीले मृतक रञ्जनाको हराएको मोबाइल लोकबहादुरको घरमा फेलापारेपछि अनुसन्धान लोकबहादुर र उनका भाइ नरेशमाथि केन्द्रित् भएको छ । 

प्रतिकृया दिनुहोस