एमालेले कारबाही सिफारिस गरेका १४ सांसदको पद नजाने

14 sansad uml

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले) ले कारबाहीका लागि सिफारिस गरेका १४ जना प्रतिनिधिसभाका सदस्यहरूलाई कारबाही गर्न नपर्ने निर्णय गरेका छन् ।

योसँगै नेकपा एमालेले ह्वीप उल्लंघनको आरोपमा निष्कासनको कारबाही गरेका १४ सांसदको पद नजाने भएको छ । सभामुख सापकोटाले संसद् सचिवालयमा पत्र दर्ता भएको १३ दिनपछि १४ जना सांसदको पद नजाने निर्णय गरेका हुन् ।

सभामुखले सांसदलाई कारबाही गरिएको पत्र पाएको १५ दिनभित्र निर्णय गर्नुपर्ने हुन्छ । सांसद पद रिक्त भएमा संसद् अधिवेशन नभएको बेला सूचना जारी गर्ने र अधिवेशन चलिरहेको बेला बैठकमा जानकारी दिने प्रचलन छ ।

एमालेले माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई ह्वीप उल्लंघनको आरोपम कारबाही गरेको थियो ।

यस बीचमा निर्वाचन आयोगले माधवकुमार नेपालको अध्यक्षतामा छुट्टै दल दर्ता गरेको र ती सांसदहरु नयाँ दलमा रहेको भन्दै संसद सचिवालयले कारबाही गर्न नपर्ने भनी निर्णय गरेको हो ।

संघीय संसद् सचिवालयअनुसार एमालेले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४ सांसद मिलेर अर्को दल गठन भएको र नयाँ दल गठनको भएको जानकारी संसद्लाई समेत भइसकेको भन्दै कारबाही गरिरहन नपर्ने निर्णय लिएका हुन् ।

एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराए पनि संसद सचिवालयले उनीहरु अर्कै दल दर्ता गरी आएकाले कारबाही गर्नु नपर्ने निर्णय गरेको हो ।

नेकपा एमालेले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिई ह्वीप उल्लंघन गरेको भन्दै माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेर संसदलाई भदौ १ गते नै जानकारी गराएको थियो । तर संसद सचिवालयले एमालेले दिएको पत्रमा निर्णय गर्न ढिलाइ गर्दै आएको थियो ।

 

प्रतिकृया दिनुहोस