कथित दलित समुदायभित्र हुने गरेको विभेदको खाडल पुर्ने की नपुर्ने ?

Nirdosh np

हाम्रो समुदायभित्र एउटा कथित दलितलाई अर्को दलितले विभेद गर्छ, यो सत्य हो । दलितभित्र पनि जातिगत रूपमा अहमता, भेदभाव र ब्राह्मणवादको असर प्रष्ट देखिन्छ । अब यो सत्यका पछाडि कुन रणनीति छ ? किन एउटा दलितले अर्को दलितलाई विभेद गर्छ ? किन दलित समुदायभित्र पनि विभिन्न तहहरू स्थापित भए ? यी तहहरू दलित आफैँले स्थापित गरे वा हामी दलित दलितबीच विभेद खडा गर्नमा कुनै बाह्य समुदायको रणनिती छ ?

यसका पछाडि पावरको रणनीति छ । मिचेल फूकोले ‘इतिहास भनेको पावरको रिफ्लेक्सन हो’ भनेझैं इतिहासमा पावर हुनेहरूले आफूलाई पायक पर्ने तवरले हरेक चिजको आफ्नै तरिकाले आफूलाई लाभांश हुनेगरी समाजमा व्यवस्था तथा स्थापना गरेको पाइन्छ ।

दलित समुदाय भित्र पनि एउटा दलितको सामाजिक स्तर अर्को दलितको सामाजिक स्तर भन्दा कसरी सानो र ठूलो ? यदि सबै दलितलाई समान जात र समान सामाजिक स्तर दिने हो भने उनीहरूको एक बलियो समुह हुन्छ । एकता कायम हुन्छ । जसले गर्दा उनीहरूमाथी विभेद गर्नेहरू सजिलै विभेद गर्न पाउदैनन् । कमजोर माथी आफ्नो पकड बनाई राख्न चाहनेहरू सफल हुँदैनन् ।

एकतामा बल हुन्छ । सम्पुर्ण दलितलाई एउटै तरिकाले समाजमा स्थापित ग¥यो भने उनीहरूमाथी शोषण गर्न असम्भव हुन्छ, उनीहरूमाथी विभेद गर्न सहज हुँदैन, उनीहरूमाथी दमन, हिंसा, अत्याचार गरेर कसैले सुतिसुति खान सक्दैनन् । किनभने दलितहरू सबैलाई समान बनाएको खण्डमा उनीहरूको समुहले जातीय विभेद सहन सक्दैन र प्रतिरोध गर्छ । यसको बारेमा राम्रो अध्ययन, अनुसन्धान थियो आज मज्जाले दलित समुदायमाथी विभेद गरिरहेका सामन्ती, मनुवादी, ब्राह्मणवादीहरू आदिलाई ।

यसकारण दलितभित्र पनि तह बनाइयो ताकी दलितहरूको बीचमा कहिले पनि समानता र एकता स्थापना नहोस् र एकाअर्काप्रति जहिले ’इतजभचलभकक’ को भावना भई रहोस भन्ने हेतुले आजको तहगत रूपमा देखिने दलित समुदायको जानीजानी रचना गरिएको हो । यसरी दलित–दलितको बीचमा पनि विभेद स्थापना गरी मुख्य ओहोदा र पावरमा रहेका समुदायप्रति उनीहरूले कहिल्यै एकजुट भएर आवाज उठाउने एक किसिमको वातावरण निर्माण नहोस् भन्ने मनसायले नै आजको दलित समुदायमा पनि दलित–दलितको बीचमा विभेद कायम रहेको छ ।

उतिबेला पावरमा भएका शोषक वर्गहरूले व्यवस्थापन गरेको यो दुरदर्शी र दिगो रणनीति अहिलेसम्म पनि उनीहरूका लागि फाइदाजनक रहेको छ । र यो रणनीति यही बाटोमा स्थापित भइराखोस् भन्ने मनसाय उनीहरूमा प्रचुर भएकाले अहिले पनि दलित समुदायदेखि कत्ति पनि डराउँदैनन् । किनकी अहिलेसम्म पनि दलित–दलितको बीचमा विभेद कायमै रहेको छ । जसले गर्दा समग्र दलित समुदाय एक हुन सकेको छैन । जानीजानी विभेद गर्नेहरू माथी एकजुट भै खनिन पाएको छैन । त्यसैले आजका दलितहरू कठपुतली भएका छन् । जातको सवालमा एक दलित अर्को दलितको शत्रु भएको छ, खुनको प्यासी झैं भएको छ ।

आजको दिनसम्म पनि यी दलित दाजुभाइ दिदीबहिनीहरू एकजुट हुन सकेका छैनन् । र एउटा बडो दुःखद कुरा के छ भने यो विभेदकारी मनुवादी रणनीतिका बारेमा समग्र दलित समुदायका ९० प्रतिशत मानिसहरू अहिले पनि अज्ञात छन् । अब सम्पूर्ण दलितहरूले यस रणनीतिका बारेमा जान्न जरूरी छ । र, दलित–दलित बीचमा रहेको जातीय असमानता र विभेदलाई अन्य गर्दै एकजुट भई सामन्ती, शोषक, मनुवादी, मुकुन्डोधारी वर्गका विरुद्ध मसाल जलाउँन अपरिहार्य छ ।

यदी कामीले दमाईलाई, दमाईले सार्कीलाई, सार्कीले वादीलाई, वादीले डुमलाई विभेद गरिराख्यो भने यिनीहरूको बीचमा जहिले असमानता र विभेद भइरहन्छ । र यसलाई उनीहरूले यहि सत्य हो भनेर स्वीकारी रहने एक किसिमको मनोवैज्ञानिक धारणाको विकास हुन्छ । किनभने यसरी तहगत रूपमा वर्गीकरण गरेको दलित समुदायभित्र पनि माथिल्लोदेखि तल्लो तहसम्म क्रमिक रूपमा तहगत लाभांशको बीउ रोपिएको छ । जसले गर्दा एकले अर्कोलाई हेप्न पाउने प्रावधान सुनिश्चित गरिएको छ । यसरी एकै परिवारका दाजुभाई दिदिबहिनीहरूलाई फरकफरक झिनो अधिकारको जलप लगाई उक्त परिवारको बल, सामथ्र्य वा जरालाई जानीजानी (क्ष्लतभलतष्यलबििथ) कमजोर बनाउने रणनीतिको भुमरी भित्र रुमल्लिएर आज एकाअर्कामाथी विभेद गरिरहेका छौँ ।

यस रणनीतिका मुख्य योजनाकार र निर्देशक नै आजको यहि ब्राह्मणवादी, मनुवादी र सामन्तवादी विचारधारा बोकेका कथित गैरदलितका अग्रज हुन् । यो व्यवस्थालाई एकपछि अर्कोलाई हस्तान्तरण गर्दै यस संरचनात्मक वर्गीय व्यवस्थाबाट निरन्तर रुपमा लाभांश असुलिरहेका छन् । हामी दलित–दलितको बीचमा विभेद ल्याउने हाम्रो व्यवस्था होइन, बरू झुटको एउटा भ्रमित चस्मा हो जुन हाम्रो आँखामा इतिहासदेखि नै ब्राह्मणवादी, मनुवादी तथा सामन्तवादीहरूले पहिराइदिएको छ । अब यस भ्रमित चस्मालाई हामी सबै दलितहरूले आ–आफ्ना आँखाबाट फुकालेर फाल्नुपर्छ । साथै असमानता र विभेदको बीउलाई पनि उखालेर हाम्रो दलित समुदाय भित्र अब एकता र समानताको बीउलाई रोप्नुपर्छ ।

यदी हामीले यो मनुवादी रणनीतिलाई समयमै चिन्न सकेनौँ, उखाल्न सकेनौँ र यसैमा अल्झिराखेउ भने समग्र दलित समुदायको कहिले पनि विकास हुने छैन । भगवत गीतामा कृष्णले अर्जुनलाई भनेका छन् ‘जो समयसँगै परिवर्तन हुन सक्तैन, ऊ कहिल्यै पनि सफल हुँदैन ।’ यसकारण अब हामीले हामीभित्रको गुटलाई एकीकृत गरी समयको मागलाई मध्यनजर गर्दै समाजमा सम्मानपूर्वक बाच्न पाउने वातावरणको स्थापना गरि विभेदमुक्त समाजको निर्माणका लागि एक्यवद्धतामार्फत हामीभित्रको विभेदलाई अन्त्य गर्नुपर्छ । समग्र दलित समुदायमाथी खडा गरिएको विभेदको पहाडलाई सम्भावना रहेसम्म विचारले र विचारले सकिएन भने बन्दुक र बारूदले भए पनि चखनाचुर गर्नुपर्छ ।

जिन्दगीभर अरूको सेवा गरेऊ तर धन कमाएनौँ । जिन्दगीभर अरूको काम गरेऊ तर विश्राम गर्न पाएनौँ । जिन्दगीमा दुःखी बिरामी भयौँ । तर कहिल्यै औषधी पाएनौँ, कहिल्यै उपचार पाएनौँ । समाजलाई सिलायौँ, समाजका पैतालामा चप्पल लगाई दियौँ । नांगो समाजलाई छोपी दियौँ, भोको समाजको पेट भरी दियौँ, कुरूप समाजलाई सिगाँरी दियौँ । तर हामी आफूले के पायौँ ?

हामीले विभेद पायौँ, हामीले घृणा पायौँ, हामीले बहिस्कार पायौँ, हामीले गरिबी पायौँ, हामीले अशिक्षा पायौँ, हामीले रोग पायौँ, हामीले अकाल मृत्यु पायौँ, हामीले बाढी पायौँ, पहिरो खायौँ, हामीले कुकुर भन्दा तल्लो दर्जाको सम्मान पायौँ, हामीले बिना छानाको टहरा पायौँ । आँखा हुँदाहुँदै पनि हामीले हेर्न पाएनौँ, मुख हुँदाहुँदै पनि हामीले मीठो खान पाएनौँ, खुट्टा हुँदाहुँदै पनि चप्पल जुत्ता लाउन पाएनौँ, शरीर हुँदाहुँदै पनि मनचाहा लुगाले ढाक्न पाएनौँ, भगवान बनाएर पनि आस्था पाएनौँ, मान्छे भएर पनि मान्छे समान व्यावहार पाएनौँ । अब हामीले यो सहन सक्दैनौँ ।

दलित समुदायभित्र पनि दलित–दलितको बीचमा गुट बनाउने, दलितको एक्यवद्धतालाई टुक्र्याउने, दलितको सामथ्र्यलाई कमजोर बनाउन दलित समुदायको बीचमा पावरको दुरूपयोग गरि जातीय तहगत प्रणाली लागू गराई दलित–दलितलाई एक आपसमा लडाइ, आफू सयौँ वर्षदेखि राज्य र सत्ताको मञ्चमा लाभान्वित भइरहेका ब्राह्मणवादी, मनुवादी, सामन्तवादीहरूको यस्तो रणनीति अब सम्पुर्ण दलित समुदायको मन र मस्तिष्कमा स्थापना हुन जरूरी छ ।

यसरी दलित समुदायभित्र निर्माण गरिएको जातीय तहगत प्रणालीले गर्दा नै हो हामीले झन् ठूलो विभेदकको पहाडमुनी कुल्चिनुपरेको । अब हाम्रो दलित समुदायभित्र अन्तरजातीय विवाहलाई बढी प्राथमिकता दिनुपर्ने देखिएको छ । जसले गर्दा नै भोलीको दिनमा दलित–दलितबीच रहेको असमानता र भेदभाव बिस्तारै हट्न गई एउटा सुमधुर सम्बन्धको विकास हुनुका साथै, एकता र समानताले हाम्रो समुदायलाई झन बढी बल प्राप्त भई सामन्तवादी, मनुवादी, ब्राह्मणवादीहरूको विभेदका विरुद्ध एकजुट भई समतामूलक समाजको निर्माण गर्न सहज हुनेछ ।

एकीकृत रुपमा सांगठनिक हुँदा हामीमाथि विभेद गरेर संरचनात्मक वर्गीय लाभांशको उपभोग गरिराखेका वर्गहरू निश्चय नै हाम्रा अगाडि कमजोर ठहरिने छन् । यसरी ६० लाख जनसंख्या एक परिवारमा गाँभिदा यो समाजले हामीमाथि विभेद गर्ने सायदै प्रयत्न गर्नेछ । यसकारण कथित गैरदलितद्वारा निर्माण गरिएको यस रणनीतिलाई हामी सबैले समयमै बुझेर हाम्रो समुदायभित्र रहेको जातीय तहहरूलाई एकै तह/ठाउँमा स्थापित गरी भोलीका सन्ततिहरूमाथी हुनसक्ने चरम विभेदबारे आजै सचेत भई हामी सबै दलित एक हौँ र समान हौँ भन्ने भावनाको विकास गरी अघि बढ्नुपर्छ ।

प्रतिकृया दिनुहोस